मागेको ८० लाख नपाएपछि वायुसेवा निगमका क्याप्टेनको हर्कत

मागेको ८० लाख नपाएपछि वायुसेवा निगमका क्याप्टेनको हर्कत

नेपाल वायुसेवा निगमले पूर्वक्याप्टेन कुलबहादुर लिम्बूलाई दिँदै आएको सेवासुविधा रोक्का गरेको छ । सामाजिक सञ्जालमा निगमको पत्र र कागजातहरु अनधिकृत तवरले पोष्ट गरेपछि निगम कार्यकारी समिति बैठकले सेवासुविधा रोक्का गर्ने निर्णय गरेको छ । 

अवकाशप्राप्त कर्मचारीका हैसियतले प्रदान गर्दै आइरहेको सेवासुविधा व्यवस्थापनबाट अर्को निर्णय नभएसम्मका लागि रोक्का गरिएको निगमको भनाइ छ । निगमविरुद्ध कपोलकल्पित, गैरकानूनी एवम् भ्रामक सूचना अनधिकृत तवरले सार्वजनिक नगर्न पनि उनलाई भनिएको छ ।

निगमले जारी गरेको विज्ञप्तिमा सर्वोच्च अदालतको आदेशविपरीत र तत्कालीन व्यवस्थापनले गरेको निर्णयविपरीत वर्तमान व्यवस्थापनले अनधिकृत सुविधा दिन नसकेको वास्तविकतालाई नजरअन्दाज गरी आवेशमा आएर आफूले लामो समय काम गर्दा भए गरेका त्रुटीहरुलाई आत्मसमीक्षा गर्दै आफ्नो पदीय मर्यादालाई समेत ख्यालमा राखी अनर्गल प्रचारप्रसार नगर्न भनिएको छ ।

नेपालगञ्ज विमानस्थलमा २०७७ सालमा भएको विमान दुर्घटनापछि नेपाल नागरिक उड्डयन प्राधिकरणले तत्कालीन क्याप्टेन कुलबहादुर लिम्बूको उडान इजाजतपत्र निलम्बनसँगै तत्कालीन निगम व्यवस्थापनले उनीसँगको करार सम्झौता पनि भंग गरेको थियो । 

त्यसविरुद्ध सर्वोच्चमा मुद्दा हालेपनि अदालतले निगमको निर्णयलाई कानूनसम्मत नै भएको फैसला सुनाएको थियो । लिम्बूले सेवाबाट हटाइएको मितिदेखि करार कायम भएको अन्तिम मितिसम्म सात महिनाको तलबले हुन आउने झण्डै ८० लाख रुपैयाँ मागेका थिए । तर, सो अवधिमा काम नगरेको र अदालतको आदेशानुसार उक्त अवधिको तलब दिन कुनै कानूनी आधार नरहेको निगमको भनाइप्रति उनको चित्त दुखाई देखिन्छ ।

टिप्पणीहरू