तिमी र

कविता

तिमी र म

तिमीले बाँसुरी बजाउँदा
म नसुने झैं गरी पहाड उक्लेँ

तिमी बिस्तारै
मलाई खोज्दै पहाडतिरै आयौ 
म तिमीलाई छक्याउन खोंचतिर भाग्दै गएँ ।

मैले सुरिलो गीत गाउँदा

तिमी निर्दयी भएर चुपचाप बस्यौ
म तिमीलाई काउकुती लाउँदै गएँ
तिमी क्रोधित बनि
मलाई लात मार्दै गयौ । 

तिमी भाग्यौ 
म पनि त भागेँ 
आ–आफ्नो यात्रा बोकी
अन्त्यहीन गन्तव्य पछ्याउँदै 
सायद विश्राम गर्ने चौतारी एउटै हुन सक्छ 
दम्भले नफुल्नुपथ्र्यो हामीहरु ? 

तिमीले देखेका सपना 
पूरा होलान् या नहोलान् ? 
तिमी संघर्ष रोज्ने मान्छे
तिमी विद्रोह ओकल्छेउ 
तिम्रो हातमा संसार अडेको होला 
तिम्रो यात्रामा कठिनाइ भएपछि
यात्रामा साथ दिन सकिएला या नसकिएला ?
तिम्रो क्रान्तिमा समाहित भएपछि
तिम्रो प्राप्ति मेरो जीवन हो 
प्राप्ति होला या नहोला ?
तिमी र म आगो हैन 
पानी पानी हुनुपर्ला । 

आउ सम्झौता गरौँ 
तिम्रो यात्रा मेरो हो 
मेरो यात्रा तिम्रो हो
यात्राको बिच बाटोमैँ 
दुःख सुख साटी बसौँ 
तिम्रो मन पग्लनु पर्ने 
निरन्तर मायाको तापले हिर्काएपछि ।

नदी जस्तै यात्रामा बगिरहेछ जिन्दगी  
बग्न देउ समुद्र भेट्ने गरी 
यात्रा विश्रामित हुनलाई
यात्रामै तिमी र म 
भञ्ज्याङ्गतिर हरायौ
देउरालीतिर बरालियौ
चौतारीमा लुकामारी खेल्दै
चौबाटो कुरी बस्यौं । 

यात्राको मध्यान्तर नहुँदै 
तिमीमा परिवर्तन आयो कसरी ?
तिमी सुस्त सुस्त मैन पग्लदै
मनहरु पगाल्न थाल्यौ 
तिमी निर्दोष बालकले फूल हेरे जस्तै
निश्चल आँखाहरुले
मलाई एक तमाशले हेर्न थाल्यौ
म पनि विस्तारै पग्लदै गएँ 
मैनबत्ति जस्तो पग्लेर
उज्यालो छर्दै
तिम्रो मायाले किन गलायो मलाई ?
थाहै भएन
पिरती अङ्कुरायो कि ?
तिमी पग्ल्यौ र त म पग्ले
म पग्लें र तिमी पग्ल्यौ
सायद
तिमीले पनि जित्यौ
मैले पनि जिते
आउ, मूलबाटो खन्दै 
राजमार्गतिर लागौ 
सहयात्राको अग्नी परीक्षा गरी 
पुनः अर्को यात्रा थालनी गर्न ।

सुन्दरहरैंचा–६, दुलारी, मोरङ

टिप्पणीहरू