नेपाल एक चीन नीतिमा प्रतिबद्ध, प्रधानमन्त्रीको भ्रमणताकाका सम्झौता अघि बढाउन आग्रह
परराष्ट्रमन्त्री डा. आरजू राणा देउवा र जनगणतन्त्र चीनका विदेशमन्त्री वाङ यीबीच हङकङमा भेटवार्ता भएको छ । मन्त्री राणा विदेशमन्त्री वाङको निमन्त्रणामा मध्यस्थताका लागि अन्तर्राष्ट्रिय सङ्गठन स्थापनासम्बन्धी महासन्धिमा हस्ताक्षर समारोहमा पर्यवेक्षक राष्ट्रका रूपमा सहभागी हुन त्यहाँ जानुभएको छ ।
चीनको विशेष प्रशासनिक क्षेत्र हङकङमा आज बिहान उक्त संगठन स्थापना गरिएको छ । सो कार्यक्रमपछि भएको भेटमा नेपाल चीन सम्बन्ध, आपसी हित, साझा चासो र सरोकारका साथै यस वर्ष दुवै देशले मनाइरहेका नेपाल चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वर्षका विषयहरूमा कुराकानी भएको जनाइएको छ ।
भेटकाक्रममा मन्त्री राणाले आगामी दिनमा पनि आर्थिक, प्राविधिक, प्रविधि हस्तान्तरण एवं प्रत्यक्ष वैदेशिक लगानीलगायतका विविध क्षेत्रहरूमा चीनको सहयोगको निरन्तरताको अपेक्षा नेपालले गरेको बताउनुभएको छ । साथै उहाँले नेपाल सदैव एक चीन नीतिप्रति प्रतिबद्ध रही आएको दोहोर्याउँदै नेपाली भूमि चीनका विरुद्धमा प्रयोग हुन नदिइने कुरामा नेपाल अडिग रहेको उल्लेख गर्नुभयो ।
दुबै मुलुकले कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वार्षिकोत्सव मनाइरहेको सन्दर्भमा नेपालको भ्रमणका लागि परराष्ट्रमन्त्रीले चिनियाँ विदेशमन्त्री वाङलाई निमन्त्रणा पनि दिनुभएको छ । पत्युत्तरमा चिनियाँ विदेशमन्त्री वाङले नेपालले हालै आयोजना गरेको सगरमाथा संवाद सफलतापूर्वक सम्पन्न गरेकोमा नेपाल सरकारलाई बधाई दिनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
जलवायु परिवर्तन र यसको असरलाई कम गर्ने तथा वातावरण संरक्षण गर्ने क्षेत्रमा आगामी दिनमा नेपालसँग सहकार्य गर्न चीन तयार रहेको उहाँले जानकारी दिनुभयो । भन्नुभयो, ‘नेपाललाई दिँदै आएको सहयोग आगामी दिनमा निरन्तर रहने छ । चीनको समन्वयमा स्थापना हुने मध्यस्थतासम्बन्धी अन्तर्राष्ट्रिय संगठनमार्फत् आगामी दिनमा नेपालसँग पनि समन्वयका साथ अघि बढ्न सकिने छ ।’
विदेशमन्त्री वाङले प्रधानमन्त्री ओलीको चीन भ्रमणमा भएका सहमति र सम्झौताहरूको कार्यान्वयन अघि बढाउन मन्त्री डा. राणामार्फत् नेपाल सरकारलाई आग्रह गर्नुभएको छ । उहाँले नेपाल भ्रमणको निमन्त्रणा स्वीकार गर्दै आफू नेपाल भ्रमणमा आउने बताउनुभयो ।
टिप्पणीहरू