कमल थापालाई छुटाउन राजेन्द्र लिङ्गदेनले आन्दोलन चर्काउने

कमल थापालाई छुटाउन राजेन्द्र लिङ्गदेनले आन्दोलन चर्काउने

कमल थापासहितका नेताहरुलाई प्रहरीले नियन्त्रणमा लिएपछि आक्रोशित राजावादीहरुले आन्दोलनलाई अझै सशक्त बनाउने घोषणा गरेका छन् । 

राजा फर्काउन अनिश्चितकालिन आन्दोलनमा उत्रिएका राजावादीहरुको एक समूह थापाको नेतृत्वमा दिउँसो नारायणचौरबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेराउका लागि निस्किएको थियो । तर, सुरक्षाकर्मीले रोकेपछि केहीबेर झाड भयो । त्यसक्रममा जबर्जस्ती गरेका उनलाई प्रहरीले पक्राउ गरेको हो । 

२०६२-०६३ ताका गृहमन्त्रीको हैसियतमा सत्तामा बसेर आन्दोलनकारीहरुलाई गोली हान्न आदेश दिने थापा समातिएको विरोधमा राजावादीहरूले आन्दोलन चर्काउने चेतावनी दिएका हुन् । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले तत्काल थापालाई रिहा गर्न माग गरेका छन् । 

प्रदर्शनकारीलाई सम्बोधन गर्दै उनले भने, 'भोलिदेखि उपत्यकाका ५० ठाउँबाट र्याली निकाल्छौँ, उनले कहाँ-कहाँ रोक्नुहुन्छ !' गणतान्त्रिक सरकारले शान्तिपूर्ण आन्दोलनमा हस्तक्षेप गरेर थापालाई गिरफ्तार गरेको लिङ्गदेनको दाबी छ । 

सरकारले धरपकडको नीति लिएको भन्दै आक्रोश पोखेका उनले प्रहरी प्रमुखलाई पनि घुमाउरो चेतावनी दिए । उनले आगाेमा मान्छे पाेल्नेलाई छाेडने तर राष्ट्रवादी नेताहरूलाई समात्ने कस्ताे शासन हाे ? भनेका छन् । 

अहिले नक्सालस्थित प्रहरी हेडक्वाटरअगाडि सडकमा राजावादीले प्रदर्शन गरिरहेका छन् ।

टिप्पणीहरू