कमल थापालाई अस्पताल पुर्याएपछि राप्रपाको आकस्मिक बैठक
बालुवाटार घेराउ गर्न जाँदा पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष कमल थापाको स्वास्थ्य परीक्षण गरिएको छ । उनीसहित समातिएका सात जनालाई प्रहरीले केही बेरअघि वीर अस्पताल पुर्याएर स्वाथ्य जाँच गरेको हो ।
स्वास्थ्य परीक्षणपश्चात उनीहरुलाई पुनः भद्रकाली ल्याइएको काठमाडाैँ प्रहरी परिसरले जनाएको छ । थापालाई आजै रिहा गर्ने वा हिरासतमा राख्ने भन्नेबारे निर्णय हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
एक प्रहरी अधिकृत भन्छन्, ‘सबैको हेल्थ चेकअप, आज छाड्ने कि राख्ने भन्नेबारे अहिलेसम्म केही आदेश आएको छैन ।’ राजावादी जुलुसको नेतृत्व गर्दै अग्रपंक्तिमा उभिएका थापालाई अपराह्न प्रहरीले भ्यानभित्र हालेको थियो ।
उता, थापा पक्राउपछि राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले आकस्मिक बैठक बोलाएको छ । भोलिको आन्दोलन थप चर्काउने तयारी उनीहरूको छ ।
थापा समातिएलगत्तै लिङ्देनले प्रदर्शनस्थलबाटै भनेका थिए, ‘कमल थापालाई ससम्मान यही ठाउँमा ल्याएर फिर्ता नगरे भोलिदेखि देशभरका मान्छे सडकमा आउछन्, अब उपत्यका बन्द हुन्छ ।’
टिप्पणीहरू