अवसरबाट वञ्चितहरु बटुल्दै भीम रावल
नेकपा (एमाले) बाट निष्कासित भएपछि मातृभूमि जागरण अभियान, नेपाल चलाएका भीम रावल यतिखेर देश दौडाहामा छन् । संगठन निर्माणका लागि विभिन्न जिल्ला धाइरहेका उनी पार्टी घोषणाको तयारीमा छन् । देशभक्तिपूर्ण राजनीतिक शक्ति निर्माण गर्ने योजनामा रहेका उनले आफ्नो गृहजिल्ला अछामसहित विभिन्न जिल्लाको भ्रमण गरिसकेका छन् ।
उनी जेठ ८ गतेदेखि २३ गतेसम्म अछामसहित नवलपरासी, दाङ, बाँके, कैलाली, डोटी र चितवन पुगे । त्यहाँ उनले विभिन्न पार्टीबाट निष्कासनमा परेका र पार्टीमा निष्क्रिय बनाइएका नेता–कार्यकर्तासँग छलफल गरेको बताइन्छ । दाङ पुगेर उनले एमालेका महासचिव शंकर पोखरेलका कारण अवसरबाट वञ्चित भएकाहरुसँग अन्तरक्रिया गरेका थिए ।
स्रोत भन्छ,‘उनले दाङमा सार्वजनिक छलफल राखे । महासचिव पोखरेलका कारण अवसर गुमाएकाहरुसँग व्यापक छलफल भयो ।’ २०७० सालमा समानुपातिक कोटाबाट संविधानसभा सदस्य तथा गत निर्वाचनमा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) निर्वाचन क्षेत्र नम्बर १ बाट एमालेकी उम्मेदवार सिन्धु जलेसा बुढाथोकी पनि उनको अभियानलाई सफल बनाउन जोडतोडका साथ लागेकी थिइन् ।
उनले नवलपरासीमा पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट पेलिएकाहरुलाई भेला गराएर रावललाई सहयोग गरेकी हुन् । बाँकेमा पूर्वएमाले, पूर्वनेकपा एकीकृत समाजवादी पार्टीका नेता–कार्यकर्तासँग रावलले अन्तरक्रिया गरेका थिए । चितवनमा आयोजित अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट ठूलोपंक्तिमा सहभागी भएका थिए । उनले सबैलाई आफ्नो अभियानमा जोडिन आह्वान गर्दै आएका छन् ।
एमालेका लुम्बिनी प्रदेशका नेताहरुले उनलाई देशभक्ति वा वैकल्पिक पार्टी बनाउन सुझाव दिएको बताइन्छ । पाँच दशकभन्दा बढी समय कम्युनिष्ट नेताका रुपमा बिताएका उनलाई गैरकम्युनिष्ट पार्टी खोल्ने निर्णयबाट पछाडि हट्न सुझाइएको हो ।
‘उनले धेरै जिल्लामा अभियान चलाए । एमालेमा अवसर नपाएकाहरुसँग गोप्य र सार्वजनिक रुपमा छलफल गरे । पार्टी अध्यक्ष ओलीसँग रिसाएका एमाले नेताहरुले उनलाई सबै पार्टीमा हेपिएका र पेलिएकालाई समेटेर नयाँ पार्टी दर्ता गर्न सुझाव दिए । त्यसैगरी, पाँच दशकभन्दा बढी समयदेखि कम्युनिष्टमा लागेकोले गैरकम्युनिष्ट बन्न पनि सुझाएका थिए’,स्रोतले भन्यो ।
जिल्लामा अभियान सकाएर अस्ति काठमाडौं फर्किएका रावलले हिजोदेखि पुनः छलफल थालेका छन् । उनी छिट्टै नै पार्टी दर्ता गर्ने योजनामा रहेको रावल निकटस्थहरुले बताए ।
टिप्पणीहरू