बिहान तातोपानीमा नुहाएर लेते पुगे प्रचण्ड

बिहान तातोपानीमा नुहाएर लेते पुगे प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मुस्ताङ पुग्नुभएको छ । गत वर्ष सत्ताबाट बाहिरिएपछि लगातार देशदौडाहामा रहनुभएका उहाँ पार्टीको जनजागरण अभियानअन्तर्गत काठमाडौँबाट पोखरा हुँदै आज बिहान त्यता पुग्नुभएको हो  ।  

पार्टीको पोखरा महानगर कमिटीको अधिवेशन उद्दघाटन तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न प्रचण्ड हिजो बिहान हवाई मार्ग हुँदै पोखरा जानुभएको थियो । उक्त कार्यक्रम सकेर साँझ म्याग्दी पुग्नुभएका उहाँ आज त्यतैबाट मुस्ताङको यात्रामा निस्कनुभयो । 

त्यसअघि प्रचण्डले म्याग्दीको अन्नपूर्णा गाँउपालिका -२ भुरूङस्थित तातोपानी कुण्डमा स्नान गर्नुभएको थियो । त्यसपछि दानास्थित ज्ञान प्रकाश नमूना माध्यमिक विद्यालय पुगेका उहाँले शिक्षक तथा अभिभावकलाई संक्षिप्त सम्बोधन गर्नुभयो । यो विद्यालय अन्नपूर्ण गाउँपालिकाको पहिलो नमूना स्कुल हो । त्यहाँबाट उहाँ रुप्से झरना हेर्न जानुभयो । 

नेपाल-चीन सिमाना कोराला नाकासँगै कालिगण्डकी करिडोरको अवस्था र त्यसक्षेत्रको सम्भावनाबारे जानकारी लिन स्थलमार्ग हुँदै त्यता पुगेका माओवादी अध्यक्ष आज बिहान मुस्ताङ प्रवेश गर्नुभएको हो । उहाँलाई पार्टीका स्थानीय नेता-कार्यकर्ता, प्रमुख जिल्ला अधिकारी लगायतले स्वागत गरेका थिए ।

मुस्ताङको लेतेमा मर्निङवाक गरेका प्रचण्डले त्यसक्रममा लेते छ्या जोड्ने पुलको अनुगमन पनि गर्नुभएको थियो । बेनी-जोमसोम-कोरला मार्गको स्थलगत अवलोकन गर्दै उहाँ लेते पुग्नुभएको जनाइएको छ ।
 

टिप्पणीहरू