राजतन्त्र अन्त्यपछि जन्मेको पुस्तालाई गणतन्त्रको सौन्दर्य बुझाउनुपर्छ : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक नेतृत्वले राम्रो काम गर्न नसक्दा बढेको असन्तुष्टिमा व्यवस्था विरोधीहरुले टाउको उठाउने मौका पाएको बताउनुभएको छ ।
मुस्ताङ यात्राका क्रममा आज बिहान म्याग्दी पुग्नुभएका उहाँले अन्नपूर्ण गाउँपालिका-३ स्थित ज्ञानप्रकाश नमूना माध्यमिक विद्यालयका विद्यार्थी र अभिभावकलाई सम्बोधन गर्दै त्यस्तो धारणा राख्नुभएको हो । राजनीतिक नेतृत्वले कमजोरी सुधारेर गणतन्त्रलाई बलियो बनाउनुपर्नेमा पनि प्रचण्डले जोड दिनुभयो ।
लामो राजनीतिक सङ्घर्ष र जनताको बलबाट स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाबाट मुलुक पछाडि फर्किने कल्पना पनि गर्न नसकिने उहाँले बताउनुभयो । राजतन्त्र अन्त्यपछि जन्मिएको पुस्तालाई राजतन्त्र र गणतन्त्रको पृथकता थाहा नभएकाले उनीहरुलाई प्रशिक्षित गर्दै लैजानुपर्ने उहाँको भनाइ छ ।
‘अलिअलि राजतन्त्र भोगेका युवाहरुलाई त भनिरहनै परेन, तर राजतन्त्र अन्त्यपछि जन्मिएका, जसलाई हामीले जेन-जी भनेर बुझ्छौँ, उनीहरुलाई यसको सौन्दर्यबारे अगवत गराउनुपर्नेछ’, उहाँले भन्नुभयो, ‘जेन-जी पुस्ता पनि सबै होइन, केही सिमित वर्गलाई राम्रोसँग बुझाउनुपर्ने भएको छ, त्यसमा शिक्षक र अभिभावकहरुको भूमिका पनि महत्वपूर्ण हुन्छ भन्ने मलाई लाग्छ ।’
पूर्व प्रम प्रचण्डले पूर्व राजा ज्ञानेन्द्र शाहलाई अब सिंहासनमा फर्काउने कल्पना नगर्न भन्दै राजावादीलाई कटाक्ष पनि गर्नुभयो ।
टिप्पणीहरू