निराशा चिर्ने के होला त ओखती ?

निराशा चिर्ने के होला त ओखती ?

लाखौँ जनता खुसी मनले सामेल हुने एमालेको जादुमय आमसभा र भेला किन एकादेशको कथा बन्न पुगे ? गत मंसिर ७ गते प्रतिक्रियावादी र प्रतिगमनकारीका विरुद्ध नारायणहिटी दरबारअगाडि कम्तीमा ५० हजार कार्यकर्ता उतार्ने उर्दीको हालत के भयो ? 

उक्त कार्यक्रमका लागि कमाण्डर तोकिएका बाग्मती इञ्चार्ज राजन भट्टराई आइक्यापको कार्यक्रममा भाग लिन दुई दिनअघि कम्बोडिया उडे । ‘मान्छे नआउनुमा हाम्रो के दोष ? सबैलाई सूचना र निर्देशन दिएकै थिएँ, कम्बोडिया भ्रमण पनि त पार्टीकै काम थियो’ भन्ने भट्टराईको तर्क ठीक थियो कि गलत छुट्याउने हिम्मत कसैले गरेनन् । यदि उनी अध्यक्ष ओलीका दाहिना हुन्थेनन् भने अरुको जस्तै हालत झेल्नुपथ्र्यो कि पर्थेन होला ? संसद बैठक शुरु भएकै दिन सचेतक सुनिता बराललाई अफ्रिका जाने छुट कसरी मिल्यो ?

त्यसो त दरबारमार्गको कमजोर उपस्थितिबाट पाठ नसिकेको एमालेले काठमाडौंमा एक महिनाअघि मात्रै युथ सेलिब्रेशन भन्दै एक लाख युवाको परेड देखाउने भन्यो । कार्यक्रममा २० देखि २५ हजारसम्म मात्रैले सहभागिता जनाए । त्यसमा पनि सूर्य चिह्नवाला झन्डा कुन पार्टीको हो भन्न नसक्नेहरू पनि सामेल भएका देखिए । सो  कार्यक्रमका निम्ति गाउँ तथा नगरपालिकाका प्रत्येक वडाबाट सकेसम्म खर्चबर्च दिइकन सहभागी बनाउनु भनिएको थियो । यो पालि पनि किन पार्टी र भ्रातृ संगठनको कार्यक्रममा जनसहभागिता घट्दो छ भनेर समीक्षाको विषय बनाइएन । र, फलस्वरुप जेठ १५ गतेका दिन पञ्चहरूको प्रतिकार हुने गरी र्‍याली निकाल्ने निर्णय १२ गते सचिवालय बैठकले गर्‍यो । ‘पटक–पटक भन्दा पनि टेरेनन्, बैठकबाटै निर्णय भएपछि अब त गर्लान्’ भन्दै बालुवाटार निवासले सञ्चो मानेको थियो । यो र्‍यालीमा पनि १०–११ हजारभन्दा बढीको सहभागिता हुन सकेन । राजावादीहरूलाई गणतन्त्रवादी जिउँदै छन् भन्ने संकेत दिनका लागि मात्रै भए पनि खुँडा र तरबार बोकेको साँस्कृतिक झाँकीसहित प्रदर्शनीमा उत्रिएको दाबी गरियो । तर वास्तविकता भने आकर्षण गुमाउँदै गएको अनुभव यिनै कार्यक्रमहरूले दिँदैछन् । 

यस्तो किन हुँदैछ ? एक विश्लेषक भन्छन्— ‘मदन भण्डारी हुँदा जुन तिलस्मी छवि थियो, त्यस्तो अवस्था अहिलेको एमालेमा छैन । मदन हुँदा कामधाम छोडेर, जागिर धरापमा पारेर र स्कूल छोडेर भाषण सुन्न जाउँजाउँ भन्ने अवस्था सिर्जना गर्न सक्ने नेता एमालेमा रहेनन् । अघिल्ला केही वर्षसम्म केही नेता परीक्षण हुन बाँकी थिए, मौजुदा अवस्थामा त्यस्ता नेता रहेनन् । प्रधानमन्त्री चारपटक भइसकेका, दुई–तीन पटक मन्त्री रहेकाले जनजीविकाका लागि राम्रो काम गर्न सकेनन् । त्यस्तै वाककला र कार्यक्षमता पनि नभएका नेताहरूको हालिमुहाली हुँदै गइरहेकाले पनि कार्यकर्ता निराश छन्, जनता उत्साही छैनन् भन्ने नै देखाउँछ । पार्टीले बिचौलिया र व्यापारीको एजेण्डा बोकेको भन्दै परपर हुँदै गइरहेका छन् । 

उता नेपाली कांग्रेसले त्यस्तो कार्यक्रम नै हतपत्त गर्दैन, बाटोघाटोमा भेट्दा जय नेपाल भन्यो, हिँड्यो । मोर्चा जस्तो पार्टीमा एकखाले नेताले एउटा कुरा, अर्को नेताले अर्को कुरा भने पनि चलेकै छ ।
 

टिप्पणीहरू