रास्वपा नेतृको टिकटक मोह, लाइभमा 'ट्याप ट्याप' गर्दै गिफ्ट माग्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य ज्वाला संग्रौलामा पछिल्लो समय टिकटक मोह देखिएको छ । आफूलाई सामाजिक अभियन्ताको रुपमा चिनाउने उनले टिकटकमा लाइभ आएर गिफ्ट माग्ने गरेको पाइएको छ ।
संगठन विस्तारमा भन्दा रवि लामिछानेको प्रशंसामा समय खर्च गर्ने उनी हरेक रात टिकटकमा लाइभ बस्ने गरेकी छन् । राति अबेरसम्म लाइभमै रहने उनले 'ट्याप ट्याप' भन्दै गिफ्ट पनि माग्ने गरेकी छन् ।
जेल परेका सभापतिको गुनगान गएकै कारण सोझै केन्द्रीय कमिटीमा ठाउँ पाएकी संग्रौलाको यस्तो हर्कत देखेर रास्वपाका अन्य नेताहरु भने हैरान छन् । एक केन्द्रीय सदस्य भन्छन्,‘संगठन विस्तारमा उहाँलाई रत्तिभर पनि चासो छैन । तर, रातभर टिकटक लाइभमा बस्नचाँहि उहाँसँग प्रशस्त समय छ । पार्टीको जिम्मेवार व्यक्ति भएर उहाँ टिकटकमा आएर गिफ्ट माग्नुहुन्छ । यस्ता नेताले गर्दा पार्टीकै बद्नाम भएको छ ।’
सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले उनलाई ‘डिजिटल भिखारी’ को संज्ञा दिन थालेका छन् । रास्वपाको तल्लो तहका कार्यकर्ताले भने उनलाई पार्टीबाट हटाउनुपर्ने माग राखेका छन् । उक्त पार्टीका समर्थक ठाकुरप्रसाद गजुरेलले संगौलाजस्ता व्यक्तिलाई ठाउँ दिनु पार्टीका लागि घातक हुने बताएका छन् । सञ्जालमा उनले लेखेका छन्,‘रास्वपाले ज्वाला संगौलालाई केन्द्रीय सदस्यबाट हटाइदिए हुन्छ । यस्ता मान्छेहरु राष्ट्रिय स्वतन्त्र पार्टीमा बस्नु घातक हो ।’
विवादित छविकी संग्रौला रास्वपमा प्रवेश गर्नुअघि अभियन्ता बनेर हिंडेकी थिइन् । त्यसताका ड्युटीमा रहेका एक जना ट्राफिक प्रहरीसँग झगडा गरेर मुद्दा मामिला खेपिन् । महाराजगंज प्रहरी वृत्तमा उनले त्यहाँ कार्यरत असई मणिकान्त झालाई रंगभेद हुनेगरी अपमानजनक ढंगले गालीगलौज गरेकी थिइन् । उनले भनेकी थिइन्, ‘तपाईं मधेसी, अब उता मधेसतिर जाऊँ, खेती किसानी गर्नू । ट्राफिकको जागिर खाएर काम छैन ।’
सो अभिव्यक्तिको चर्को आलोचना भएको थियो । ‘न्यायाधीशलाई झोले’ भन्दा उनीमाथि अदालतको अवहेलना मुद्दा पनि चलेको थियो । रविकी श्रीमती निकिता पौडेलको नारी टेलिभिजनमा कार्यरत उनले केही महिनाअघि सामाजिक सञ्जालमार्फत आफ्नै पार्टीका नेताहरुलाई गालीसमेत गरेकी थिइन् ।
टिप्पणीहरू