शिक्षितहरू पनि यति संकीर्ण ?

म खगेन्द्र लुइँटेलकै बेलाको त्रिविको विद्यार्थी हुँ । हाम्रो विषय फरक थियो । त्यसबेलै उनको क्षमता हामी अरु विषयका साथीलाई पनि थाहा थियो । उनी फस्र्ट इयरमा प्रथम भएका थिए । रिजल्ट आउनुअगाडि नै आफ्नो भिलेज प्रोफाइल र थेसिस तयार पारिसकेका थिए । जाँच सकिएपछि नेपाली मात्र नभई अरु विषयका कैयौँ साथीलाई भिलेज प्रोफाइल र थेसिस लेख्न सिकाएका थिए । म तिनैमध्येको एक हुँ । विद्यार्थी जीवनबाट छुटेपछि उनीसँग भेट भएको छैन । उनी विश्व घुमेको कुरो चैँ फेसबुक र पत्रपत्रिकातिर देखेको छु ।
त्यसबेला नेपालीका हेडगुरुले लुइँटेलको नम्बर घटाइदिएर अर्कालाई फुलमार्कभन्दा पनि बढी नम्बर दिएछन् । त्यहीँ पढाउने एकजना गुरुमालाई बिहे गर्ने शर्तमा ती विद्यार्थीलाई यो अतिरिक्त बोनस दिइएको रहेछ । लुइँटेलले चैँ बिहे गर्न नमानेका कारणले नम्बर घटाइएको रहेछ । यो थाहा पाएर नेविसंघ र अखिलका साथीहरु मिलेर ती हेडगुरुकै अफिसबाट ती कागजपत्र खोसी फोटोकपी गरेर हामीलाई बाँडे । त्यो कागज लिएर ती हेडगुरुसँग छलफल गर्न गएका थियौँ । केही साथीले रिस थाम्न नसकेर उनीमाथि हातपात गर्न थाले । हामीले त्यहाँबाट तिनलाई भगाएको हो । त्यसपछि ती हेडगुरु कीर्तिपुर आउन सकेनन् र एक वर्षको बिदामा बसे । यो कुरा विश्वविद्यालयको रेकर्डमा पनि होला । त्यो फोटोकपी मैले आजसम्म पनि जतन गरेर राखेको छु ।
उनलाई अहिले थेसिस चोरेको आरोप छ । नेपाली पढाउने एकजना साथीलाई सोधेको त साथीले तिनको थेसिसको फोटो खिचेर पठाइदिए । संसारमा परिभाषा लेख्दा फुटनोट राख्ने चलन मैले कतै पनि देखेको छैन, तैपनि उनले राखेका रहेछन् । अलि अगाडि जोडीले लुइँटेलका घरमा आक्रमण गराएको पनि सुनिएको थियो ।
नेपाली भाषाको मानक स्वरुपको रक्षा गर्न खटेका यी लुइँटेलको बदनाम गर्न यदि तिनले यस्तो काम गर्छन् भने म पनि त्यसबेलाको त्यो फोटोकपी बाहिर ल्याइदिन्छु र त्यो बेला भएका सबै घटना जनआस्थालाई बताउन तयार हुनेछु ।
– अच्युत पराजुली, हालः अमेरिका

टिप्पणीहरू