क्यामिस प्रणालीः बिचौलिया निषेध, सेवाग्राहीलाई राहत

क्यामिस प्रणालीः बिचौलिया निषेध, सेवाग्राहीलाई राहत

बिचौलियाको अन्त्य गर्न र सेवालाई थप सुदृढ तथा पारदर्शी बनाउन कम्पनी रजिष्ट्रारको कार्यालयले ‘कम्पनी एडमिनिस्ट्रेशन म्यानेजमेण्ट इन्फरमेशन सिस्टम (क्यामिस)’ प्रणाली सञ्चालनमा ल्याएको छ । २०८१ साउनमा पहिलोपल्ट परीक्षणका लागि ल्याइएको यो प्रणाली गत फागुनदेखि पूर्णरुपमा कार्यान्वयनमा आएको हो । 

क्यामिस प्रणाली लागू भएसँगै सेवाग्राहीलाई सहज भएको कार्यालयले जनाएको छ । हाल कम्पनी दर्तादेखि खारेजीसम्मका सबै काम डिजिटल प्रविधिमार्फत भइरहेको कार्यालयका रजिष्ट्रार ईश्वरकुमार गिरीले बताए । उनका अनुसार ‘फर्स्ट कम, फर्स्ट सर्भिस’ नीतिअनुसार कार्यालयले सेवा दिइरहेको छ । 

प्रणाली लागू भएसँगै कार्यालय पेपरलेस, क्यासलेस, फेसलेस र टचलेस बनेको छ । जनआस्थासँग उनले भने,‘हामीले साउनमा परीक्षणका लागि सो प्रणाली ल्याएका थियौं । फागुनदेखि पूर्णरुपमा सञ्चालन गरेका छौं । त्यसले गर्दा सेवाग्राहीलाई निकै सहज भएको छ । उहाँहरु जहाँ हुनुहुन्छ, त्यहीँबाट आफ्नो काम गर्न सक्नुहुन्छ । कार्यालय धाइरहनैपर्दैन ।’

यो प्रणाली कार्यान्वयनमा ल्याउनुको मुख्य उद्देश्य बिचौलियाको अन्त्य गर्नु भएको उनले जनाए । बिचौलियाले सेवाग्राहीलाई हैरान पारेको उल्लेख गर्दै रजिष्टार गिरीले सबै काम आफैंले गर्नसक्ने भएकाले सेवाग्राही ठगिनेक्रम रोकिएको दाबी गरे । 

‘यसमा थर्ड पर्सन आउनै पाउँदैन । सबै काम सिस्टमबाट आफैंले गर्न सकिन्छ । जसका कारण बिचौलियाको अन्त्य भएको छ । हामीले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग र आन्तरिक राजश्व विभागसँग समन्वय गरेका छौं । त्यसैले, यो सुरक्षित पनि छ’, उनी भन्छन् । 

अनलाइनबाटै सेवा लिन सक्ने व्यवस्था देशैभर लागू भइसकेको बताउँदै उनले क्यामिस प्रणालीले कार्यालयको सबै विवरण एकीकृत रुपमा व्यवस्थापन गरेको जानकारी दिए । निजी क्षेत्रका उद्योग, व्यापार र व्यवसायमा लगानी प्रवर्द्धन गरी आर्थिक विकासमा सहयोग पुर्याउने अपेक्षा राखिएको उनको भनाइ छ । 

कर्मचारी अभावले समस्या 

उक्त प्रणाली सञ्चालनका लागि अहिले करिब ३५ जना कर्मचारी कार्यरत छन् । लाखौं उद्योग दर्ता भएकाले कार्य सञ्चालनका लागि कर्मचारी अपुग भएको रजिष्ट्रार गिरी बताउँछन् । प्रविधिबारे कर्मचारीहरु जानकार नभएकाले पनि सेवा प्रवाहमा केही हदसम्म प्रभाव परेको उनको बुझाइ छ । 

‘हामी अझैपनि सिक्ने क्रममा छौं । सबै कर्मचारी प्रविधिसँग फ्रेण्डली छैनन्, त्यसैले केही समस्या भएको छ । तर, अहिले देखिएका समस्याहरुलाई सुधार गरेर अघि बढ्छौं । तत्काललाई जनशक्ति कम छ । जसका कारण केही अप्ठेरो परेको छ’, उनले भने । 

त्यसैगरी, क्यामिस प्रणालीको सर्भर सिंहदरबारको प्रणालीसँग जोडिएकाले सेवा ठप्प हुने सम्भावना नरहेको गिरीको दाबी छ । चाप बढी भएको अवस्थामा कहिलेकाँही सेवा अवरुद्ध भने हुनसक्ने बताउँदै भन्छन्,‘कहिलेकाँही चाप बढी भयो भने सेवा अवरुद्ध होला तर ठप्पचाँहि हुँदैन । किन कि हाम्रो प्रणाली सिंहदरबारको प्रणालीसँग जोडिएको छ । सिंहदरबारको बिग्रियो भने बेग्लै कुरा हो ।’

यस्ता छन् क्यामिस प्रणालीका विशेषता 

क्यामिस प्रणाली लागू भएसँगै सेवाग्राहीलाई भौतिक रुपमा कार्यालय उपस्थित हुनुपर्ने झण्झट हटेको छ । कम्पनी दर्तादेखि खारेजीसम्मका लागि क्यामिस प्रणालीबाटै आवेदन दिन सकिन्छ । त्यसपछि स्वचालित रुपमा राउण्ड रोबिन आधारमा सम्बन्धित कर्मचारीको डेस्कमा आवेदन पठाइन्छ । 

नाम स्वीकृति र कम्पनी दर्ताका निवेदनहरु एक तहबाटै टुंगो लगाउनुको साथै सम्पूर्ण निवेदन तथा कागजातहरु सम्बन्धित कम्पनीहरुले प्रणालीबाटै हेर्न सक्छन् । कम्पनीका शेयरहोल्डरको पहिचानको विवरणका लागि राष्ट्रिय परिचयपत्र प्रणाली, करदाताको प्यान नम्बर लिने कार्यका लागि आन्तरिक राजश्व सूचना प्रणाली र कम्पनीको लेखापरीक्षण गर्ने लेखापरीक्षक नम्बरको लागि नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको प्रणालीलाई क्यामिसमा आबद्ध गरिएको छ ।

अन्य सरकारी निकायलाई पनि आबद्ध गर्दै लगिने जनाइएको छ । कार्यालयका अनुसार दुई हजार ३१४ पब्लिक कम्पनी, तीन लाख ४७ हजार २२९ निजी कम्पनी, चार हजार ५११ विदेशी लगानी भएको र ६ हजार १५९ मुनाफा वितरण नगर्ने कम्पनी दर्ता भएका छन् । ती सबै कम्पनीको विवरण प्रणालीमा राखिएको छ । 

सेवालाई प्रभावकारी र पारदर्शी बनाउनका लागि हाल कार्यालयमा डिजिटल हस्ताक्षरको व्यवस्था पनि गरिएको छ ।

टिप्पणीहरू