महान् मान्छेको कति कमलो मन

महान् मान्छेको कति कमलो मन

विश्व साहित्यमा अति चर्चित श्रष्टामध्येका हुन् अर्नेस्ट हेमिंग्वे । अमेरिकामा जन्मेका उनको दर्जनौं उपन्यास, लघुकथा संग्रह र गैरआख्यान लेखहरू प्रकाशित छन् । १४ वर्षकै उमेरमा स्कूलबाट प्रकाशित दुइटा पत्रिका ‘ट्रापेजे’ र ‘ताबुला’ सम्पादन गरेका उनले ‘कान्सास सिटी स्टार’ अखबारमा प्रशिक्षार्थी पत्रकार बने । छोटो वाक्य लेख्ने, प्याराग्राफ सानो बनाउने र लेखनमा प्राभावशाली शब्द प्रयोग गर्नुपर्ने लेखकीय गुण उनले यसै अवधिमा सिके । विश्वयुद्धकालमा युद्ध संवाददाता पनि भए । सन् १९५४ मा साहित्य विधातर्फ दिइने ‘नोबेल पुरस्कार’ जिते ।

यो पुरस्कार उपन्यास ‘बूढो मान्छे र समुद्रका लागि जितेका थिए । यो छोटो तर गहन चिन्तन बोकेको उपन्यास हो । यसले आत्मसम्मान, साहस र दृढताको कथा सुनाएको छ । यसको मुख्य पात्र माछा सान्टियागोको हो जसले लामो समयसम्म समुद्रमा माछा मार्ने कोसिस गरिरहन्छ, जालमा माछा नपरे पनि आशा छाड्दैन । निराशा वा शारीरिक हार भए पनि मानिसको आत्मा अपराजित हुन सक्छ भन्ने सन्देश उपन्यासको सबैभन्दा सुन्दर पक्ष हो ।

हेमिंग्वेलाई लोग्नेमान्छेको तुजुकले भरिएको बलियो गद्य परम्परा बसाल्ने साहित्यकारका रूपमा पनि हेर्ने गरिन्छ । धेरैले उनको साहित्यिक रचनाको तारिफै गरेका छन् तर कतिपय समालोचक उनको चर्चा साहित्यिक कृतिले भन्दा वैयक्तिक जीवनको कारण भएको मत राख्छन् । हुन पनि एउटै महिलासित सन्तुष्ट भएर कहिल्यै बसेनन् ।

धेरैसँग प्रेम गरे, छुटे । ४ जनासँग त बिहे नै गरे । महिलाहरूसितको प्रेम र व्यावसायिक दुबै सम्बन्ध रह्यो जसको प्रभाव  लेखनमा पनि स्पष्ट देख्न सकिन्छ । उनी आफूलाई महान प्रेमी भन्न रुचाउँथे । आफूमा तीव्र कामवासना भएको स्वीकार्थे । दिनमा ३ समय शारीरिक सम्बन्ध राख्न सक्छु भन्थे । अफ्रिका भ्रमणको दौरान हब्सीहरूसँग र क्युबा जाँदा त्यहाँका बेश्याहरूसँग पनि सुते । उनी आफूभन्दा जेठो उमेरका महिलासित रासलीलामा रमाउन मन पराउँथे । स्पेनको बसाइमा मित्र सिड्नी फ्रान्कलिनसँग समलिंगी सम्बन्ध राखे । जीवनमा एकैपटक मात्र त्यस्तो सम्बन्ध राखेको स्विकारेका छन् उनी आफैँले ।

 सन् १९१४ मा प्रथम विश्वयुद्ध शुरु हुँदा १५ वर्षका थिए । कलिलो दिमागमा सेनामा भर्ति भएर युद्धमैदानमा जाने पागलपन सवार भयो । भर्ना हुन गए तर शारीरिक परीक्षणमा आँखा कमजोर भएको रिपोर्ट निस्केपछि अयोग्य घोषित भए । तर, उनी जसरी भए पनि युद्धमा होमिन चाहन्थे त्यसैले अमेरिकी रेडक्रसको स्वयंसेवक टोलीमा लागेर सन् १९१७ मा पेरिस गइछाडे । त्यतिवेला जर्मनीले भीषण बमबारी गरिरहेको थियो ।

उनी त्यहाँबाट भागेर इटलीको मिलान सहर पुगे र रेडक्रसको एम्बुलेन्स चलाउन थाले । सवारीचालक बन्ने अवसर पाएको पहिलो दिनमै एउटा हतियार भण्डारण गरिएको उद्योगमा बिस्फोट भयो । उनले त्यहाँभित्र थुनिएका एकजना महिला कामदारको उद्धार गरे । युद्धको अन्त्यतिर भएको अर्को मोर्टार आक्रमणमा भने आफैँ नराम्रोसित घाइते भए । दुवै खुट्टा छियाछिया भयो । ६ महिना सैन्य अस्पतालमै बस्नुपर्‍यो । उनको सेवामा लागेकी थिइन्– अमेरिकी रेडक्रसकी नर्स एग्नेस भोन कुरोवस्की । जर्मन बाउकी छोरी । हेमिंग्वेभन्दा ७ वर्षले जेठी । उक्त घटना घट्नु केही समय अघिमात्र न्युयोर्कबाट मिलान पुगेकी ।

एग्नेस अग्ली थिइन्, दयालु, उदार, तेजस्वी, ऊर्जाले भरिपूर्ण थिइन्, एक उत्कृष्ट नर्स पनि थिइन् । उपचारकै क्रममा बिरामी हेमिंग्वे र नर्स एग्नेसबिच राम्रो सम्बन्ध बन्यो । एग्नेस हेमिंग्वेलाई ‘बच्चा’ भनेर जिस्क्याउँथिन् । अलिक दिनपछि हेमिंग्वे पनि उनलाई ‘श्रीमती बच्चा’ भनेर जिस्काउन थाले । हेमिंग्वे अस्पतालबाट निस्केपछि पनि दुबैको सम्बन्ध सुमधुर रहिरह्यो । रात्रिभोजमा सामेल हुन र घुमघाममा रमाउन थाले । यसबीच हेमिंग्वेलाई घर फर्कनुपर्‍यो ।

उनी चाहन्थे एग्नेस पनि संगै अमेरिका गएर बिहे गरुन् । तर, एग्नेसलाई फर्कन मिलेन । हेमिंग्वे एक्लै गए । उनीहरू गहिरो मायामा डुबिसकेका थिए । त्यसैले भौतिक दूरीको महसुस हुन नदिन दुबैले एकार्कालाई प्रेमपत्र लेखेर नजिक बनाइराखे दुर्ई महिनाको अवधिमा एग्नेसले ५१ वटा पत्र लेखिन् भने हेमिंग्वेले १४ वटा पत्रमा एग्नेसले हेमिंग्वेलाई कहिले ‘प्यारो बच्चा’ त कहिले ‘अर्नी, मेरो प्यारो केटो’ भनेर संबोधन गर्थिन् भने हेमिंग्वे एग्नेसलाई ‘मेरी मान्छे’ भनी लेख्थे ।

दुबैबीच कुनै असमझदारी थिएन । सम्बन्ध गाढा बन्दै गइरहेको थियो । एग्नेस दिनभरिको थकानपछि कोठामा पुग्दा पनि प्रेमीलाई पत्र लेख्न बिर्संदैनथिन् । उनी स–सानो कुरो पनि पत्रमा उल्लेख गर्थिन् । कुनैदिन पत्र लेख्न नसक्दा र भोलिपल्ट लेख्न बस्दा हिजो कलममा मसि सकेकोले लेख्न सकिन, क्षमा गर्नु भन्थिन् । उता, हेमिंग्वे भने स्वदेश फर्केपछि अलि ब्यस्त हुन थालेका थिए, त्यसैले एग्नेसले जस्तै दिनहुँ प्रत्युत्तर लेख्न सकेनन् ।

प्रेमीले आफूसरह दिनहुँ नसम्झेकोमा एग्नेस अलिकति खिन्न त हुन्थिन् तैपनि गुनासो गर्दैनथिन् । तर, पश्चिमी समाजको असर बिस्तारै देखिन थालेको थियो । मिलानमा दिनहुँजस्तो हुने सैन्य जमघट र रात्रीभोजमा हेमिंग्वेको अनुपस्थितिमा एक्लै हिंड्न थालेकी थिइन् ।

सैन्यजवान र अधिकृतहरू एकांगी पन्छाउन उनको नजिक हुन थालेका थिए । यसबीच, अमेरिका छाडेको दुई महिनापछि हेमिंग्वेले सन् १९१९को मार्च ७ मा लेखिएको पत्र प्राप्त गरे । जसमा लेखिएको थियो– ‘म अझै तिमीसँग प्रेम गर्छु, तर बिहे इटलीकै धनी व्यक्ति तथा युवा सैनिकसँग गर्न गइरहेकी छु, क्षमा गर !’

 पत्र पढेर उनी झसंग भए । एकछिन त पत्रको ब्यहोरालाई उनले पत्याउनै सकेनन् । धेरै हदसम्म मर्माहत भए र कैयौँ दिन घरबाटै निस्केनन् । प्रत्युत्तर दिनै उचित ठानेनन् । बरु अलिकति सम्हालिएपछि मिल्ने साथी हावेल जेन्किन्सलाई पत्र लेखेर आफ्नो भावना पोखे । लेखिएको थियो– ‘म उनलाई प्रेम गर्थें ।

जिस्क्याउँथे । सायद यसैलाई मैले प्रेम ठानें ? म उसलाई दोष दिन्न । मैले रक्सी र अन्य केटीहरूको सामिप्यतामा उसलाई बिर्सने कोशिस गरें । धेरैहदसम्म सफल पनि भइसकें ।‘ तर अर्का साथी बिल हर्नलाई भने भिन्न आशयको पत्र लेखे– “म एगलाई माया गर्थें । उनी मेरो आदर्श थिइन्... मैले धर्म र अरू सबै कुरा बिर्सिएँ किनभने म उसलाई पूजा गर्थें...’

हेमिंग्वेले पहिलो प्रेमिका एग्नेसलाई लेखनमा मुख्य पात्र बनाएर कथा, उपन्यास लेखेका छन् । तीमध्येको एउटा चर्चित उपन्यास ‘अ फेयरवेल टु आम्र्स’ हो । पूर्वअमेरिकी राजदूत तथा ‘हेमिंग्वे इन लभ एण्ड वार’ पुस्तकका सह–रचनाकार हेनरी विलार्डका अनुसार, उक्त घटनापछि प्रेमी–प्रेमिकाबीच कहिल्यै भेटघाट भएन, तर दुवैले एकअर्कालाई बिर्सन पनि सकेनन् । पहिलो प्रेम असफल भएपछि हेमिंग्वे कहिल्यै महिलाप्रति आशक्त भएनन् । यद्यपि, जीवनमा उनले ४ पटक बिहे गरे र अरुसित पनि प्रेमसम्बन्ध राखे तर, कसैसँग पनि एग्नेसलाई जति गहिरो प्रेम गरेनन् । हेमिंग्वे र एग्नेसको प्रेमसम्बन्ध मात्र ६ महिनाको थियो ।

उता, एग्नेसले सन् १९२८ मा मात्रै होवार्ड प्रेस्टोनसित बिहे गरिन् । त्यो बेला दुबैजना हाइटीको रेडक्रसमा कार्यरत थिए । हाइटीको बसाइ सकेसँगै सम्बन्ध विच्छेद भयो । एग्नेसले सन् १९३४ मा विलियम स्टानफिल्डसित दोश्रो बिहे गरिन् । स्टानफिल्ड सम्बन्धविच्छेद गरेका र तीन सन्तानका बाबु थिए ।

एग्नेसको निधन ९२ वर्षको उमेरमा सन् १९८४ मा अमेरिकाको फ्लोरिडामा भयो । उनले जीवनको अन्तिम समयमा जब दुबै वैवाहिक जीवन सुखद रहेन त्यसबेला हेमिंग्वेसित जीवनयापन गरेको भए त्यसो नहुने थियो कि ! भनेर पश्चाताप गरेकी थिइन् । हेमिंग्वेको निधन एग्नेसको मृत्यु हुनु २३ वर्षअघि नै ६१ वर्षको उमेरमा सन् १९६१ मा भइसकेको थियो ।
 

टिप्पणीहरू