कार्यकर्ता सडकमा नआएकोमा एमाले नेता चिन्तित
नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीभित्र देखिएका सबै समस्याहरु समाधानयोग्य रहेकाले निरास नहुन कार्यकर्तापंतिलाई आग्रह गरेका छन् ।
अर्थमन्त्रीसमेत रहेका उनले पार्टीको आन्तरिक एकता जोगाउँदै राष्ट्रिय राजनीतिमा एमालेको भूमिका अझ प्रभावकारी बनाउन सक्ने सामर्थ्य नेतृत्वसँग रहेको दाबी गरे । नेतृत्वको काबुभन्दा बाहिर कुनैपनि समस्या नरहेको जिकिर गर्दै पौडेलले पार्टीभित्रका समस्या समाधान गर्नसक्ने क्षमता रहेको दोहोर्याए ।
‘आज नेकपा एमालेमा हाम्रो काबुभन्दा बाहिर, हामीले समाधान गर्न नसक्ने कुनै समस्या छ जस्तो लाग्दैन । समस्याहरु छन् तर ति सबै हाम्रो काबुभित्र छन्, समाधान गर्नसक्ने तहभित्रै छन्’, उनले भने, ‘अहिलेको पार्टीको नेतृत्वले पार्टीमा देखिएका कुनैपनि समस्याको समाधान गर्नसक्छ । र पार्टीको एकता सुरक्षित गर्दै राष्ट्रिय राजनीतिमा पार्टीको भुमिकालाई अझै प्रभावकारी बनाउँदै अगाडि बढ्नसक्छ भन्ने कुरामा हाम्रा सबै नेता कार्यकर्ताहरुले विश्वास गर्नुपर्छ । र त्यो सामथ्र्य हामीसँग छ भन्ने विश्वास समेत छ ।’
कार्यकर्ता तहमा सक्रियता र उत्साहमा कमी आएकोप्रति चिन्ता व्यक्त गर्दै उपाध्यक्ष पौडेलले थप छलफलको आवश्यकतामा जोड दिएका छन् । कुनै समय नेतृत्वले आह्वान गर्नेबितिक्कै लाखौँ कार्यकर्ता सडकमा उत्रिने पार्टीमा अहिले किन यो स्थिति सृजना भयो भन्ने विषयमा समीक्षा गरिने उनको भनाइ छ ।
‘अहिले हाम्रो पँक्तिमा अलिकति त्यो गति, उत्साह, उर्जा कम देखिएको छ । एक समय थियो जतिबेला पार्टीले आह्वान गर्ने बित्तिकै हजारौँ लाखौँ मान्छे सडकमा उत्रिन्थे । अहिले थोरै मान्छे जुटाउन पनि निकै मेहेनत गर्नुपर्ने स्थिति सिर्जना भएको छ, किन ? अहिले पार्टी र पार्टी कार्यकर्तामा किन शिथिलताको स्थिति बन्यो भन्ने कुरा अलिकति छलफल र चिन्ताको विषय हो’, उपप्रधानमन्त्री तथा उपाध्यक्ष पौडेलले भने ।
पार्टी नेतृत्वको सवालमा ठूला विवाद उत्पन्न नहुने विश्वास व्यक्त गर्दै उनले आन्तरिक समस्याको समुचित मूल्यांकन गरेर निष्कर्षमा पुग्नुपर्ने धारणा राखेका छन् ।
टिप्पणीहरू