भाउजूलाई बचाउन नदीमा हेलिएका नारायण बल्ल बल्ल जोगिए

आज बिहान करिब ११ बजेर २० मिनेट जाँदा नारायणगढस्थित नारायणी पुलमुनि नदीले एकजना पुरुषलाई बगाउँदै ल्याएको सूचना प्रहरीले पायो । खबर पाउनासाथ वडा प्रहरी कार्यालय नारायणगढबाट प्रहरी नायव निरीक्षक अर्जुन पौडेलको कमाण्डमा विपद् व्यवस्थापनसहितको टोली खटियो । र, ती पुरुषलाई नगरवन नजिकबाट उद्धार गरी उपचारको लागि भरतपुर अस्पताल पठाइयो । उनी बाँच्न सफल भए ।
अस्पतालबाट साँझ साढे छ बजेतिर डिस्चार्ज भएका उनी नुवाकोटको विदुर नगरपालिका–६ बस्ने ५२ वर्षीय नारायण रिमाल हुन् । पछि सोधपुछ गर्दा उनी र उनकी भाउजू नाता पर्ने विदुरकै ५८ वर्षीया शारदा रिमाल बिहान सात बजेतिर भरतपुर–१ देवघाटमा दर्शन गर्न भनी आएको खुल्यो ।
बताइएअनुसार फर्किने क्रममा देवघाट नजिकै नारायणी नदीमाथि रहेको पार्कमा दुवैजना आराम गर्न बसेका थिए । यसैबेला नारायण चुरोट किन्न भनी पसल गएर आउँदा शारदा रिमाल पार्कबाट नदीमा हामफालेको देखेपछि भाउजूलाई बचाउन जाँदा आफूलाई नदीले बगाएको उनले बताए ।
शारदा रिमाल अहिले पनि बेपत्ता रहेकी छन् । उनका श्रीमान् घरमा नै रहेको जानकारीमा आएको छ ।
शारदा हराएको भनी आफन्तले नुवाकोटस्थित प्रहरी चौकीमा निवेदन दिएको पनि खुल्न आएको छ । ती महिलाको वडा प्रहरी कार्यालय नारायणगढबाट समेत हुलिया परिपत्र गरिएको जनाइएको छ ।
टिप्पणीहरू