चितवनमा ‘स्यान्डल अपरेसन’ को चर्चा

चितवनमा ‘स्यान्डल अपरेसन’ को चर्चा

चितवनमा चोरहरु धमाधम समातिँदै छन् । चोरी नियन्त्रणका लागि डीएसपी रवीन्द्र खनालको निगरानीमा टोली खटाएर विशेष अपरेसन चलाइएको प्रहरीले बताएको छ । गत जेठ महिनायता डेढ दर्जन चोरीका घटनामा संलग्न ३० जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

मान्छे हिँडेर पनि चोरी गरेका कतिपय घटना देखिएपछि 'स्यान्डल अपरेसन' सञ्चालन गरिएको चितवन प्रहरी प्रमुख एसपी गोविन्द पुरी बताउँछन् ।

‘कपुरबोट मिडिया हाउसमा ल्यापटप लगायतका सामानहरु चोरी भएको घटनाको प्रकृति र त्यसमा संलग्नहरुको खोजी भयो । दुईजना अभियुक्तहरु हिँडेर त्यहाँभित्र पसेको भन्ने देखिन्छ । तिनीहरुको पहिचान गरेर हालसम्म हामीले केहीलाई नियन्त्रणमा लिएका छौं । चोरी भएको ल्यापटप पनि बरामद गरिएको छ, एसपी पुरीले भने, ‘यसमा राजु तामाङ भन्ने छ । अर्काे असीम भट्टराई पक्राउ परेका छन् । साथसाथै कान्छा भन्ने अजय रौनियार, राजु तामाङकी श्रीमती अभियुक्त विशेष गरेर लुकाउन सहयोग गर्ने र ललीपप भन्ने आकाश लामा चोरीको सामान बेच्न र राख्नमा उहाँको विशेष भूमिका छ । अजय साह, सागर सुनारसमेतका मान्छेहरुसँग लागुऔषध खैरो हिरोइनसहित चोरी भएका केही सामानहरु उहाँहरुको साथबाट बरामद गरेको अवस्था देखिन्छ । यसमा के छ भने चोर्न जाने एकथरी छ । चोर्ने मान्छेलाई भगाउने अर्काेथरी छ । त्यसपछि लुकाएर लगेर बेच्ने एकथरी छ । उनीहरुलाई लुकाउन सहयोग गर्ने अर्काेथरी छ । त्यो अनुसारको समूह भएकोले यसमा संगठित हिसाबले चोरी गरेको हो कि भन्ने देखिन्छ ।’

गीतानगर र एयरपोर्ट पछाडिका क्षेत्रमा भएका अन्य चोरीका घटनामा पनि अपरेसनको उपलब्धि देखिएको बताउँदै प्रहरी प्रमुखले भने, ‘अन्य चोरीहरुमा पनि हामीले केही सामानहरु बरामद गरेका छौं । मोटरसाईकल बरामद गरेका छौं । अन्य सूचनाहरु पनि लिने काम भइराछ । मोटरसाईकल चोरीमा इलाका प्रहरी कार्यालय टाँडीबाट खटिएको टिमले अनुसन्धान गर्यौँ यो स्यान्डलसँग जोडिएर ।

उनले अगाडि थपे, ‘यसमा कस्तो ट्रेन्ड रैछ भने धेरै तयारीहरु भएका देखिन्छन् । नक्कली नम्बर प्लेट लिएर चोरी भएको मोटरसाईकलमा लगाउने । हामी चाहिँ त्यही प्लेटको मोटरसाईकल हरायो भनेर खोज्छौं । सामानसहित हामीले मोटरसाईकल पक्राउ गर्न सफल भएपछि यसको पनि एउटा समूह संगठित हिसाबले लागेको देखिन्छ ।’

दुई आयोगका सचिव साटफेर

यसैक्रममा प्रहरीको फरार सूचीमा रहेका एकजना प्रतिवादी पनि समातिएका छन् । बालयौन दुव्र्यवहार, चोरी, लागुऔषधजस्ता अपराधजन्य घटनाका आरोपित तथा विगतमा हातहतियारसँग पनि संलग्न प्रकाश विकलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । ‘ऊ धेरै दिनदेखि खोजीमा थियो हाम्रो’, एसपीले भने, ‘अर्काे एउटा गीतानगरमा भएको सुन चोरीको घटनामा सिक्री, सुनको औंठी लगायत नगद पनि हामीले बरामद गरेका छौं ।’

घटनाको विवरण हेर्दा यसबीचमा चोरीका १८ वटा मुद्दा दर्ता भएका छन् भने ३० जना पक्राउ परेका छन् । जसमा चितवन जिल्लाभित्र बसोबास गर्ने १८, अन्य जिल्लाबाट आएका १० जना र दुई भारतीय नागरिक भएको प्रहरीले जानकारी गराएको छ । मूल्यको हिसाबले नगदसहित करिब ३७ लाख ९३ हजार एकसय १५ बराबरको जिन्सी सामान बरामद गरेको जनाइएको छ । ‘१८ देखि २५ वर्षका मान्छे यसमा बढी संलग्न देखिन्छ । यो पक्राउसँगै अहिले चोरीमा केही कमी भएको हो कि भन्ने महसुस हामीले गरेका छौं, प्रहरी उपरीक्षकले भने, ‘सिसिटिभीले पनि हामीलाई ठूलो सहयोग गरेको छ ।’

स्यान्डल अपरेसनले अहिले जुन उपलब्धि भएको छ, यसबाट चोरी नियन्त्रणमा ठूलै सहयोग पुग्ने विश्वासका व्यक्त गर्दै एसपीले थप भने, ‘यो हाम्रो अपरेसनले पुराना घटनाहरु पनि कतिपय खुलेका छन् । दिनदिनै चोरीका विशेष र साना–तिना घटना पनि आउन थालेपछि एउटा मिसनकै रुपमा जानुपर्छ भनेर यो अपरेसन क्रियट गरेका हौं ।’

‘अपरेसनको नाम दिइसकेपछि स्वभाविक रुपमा त्यसले एउटा मिसनको रुपमा काम गर्छ । यो स्यान्डल अपरेसनचाहिँ चोरीलाई लक्षित गरेर सञ्चालन गरेका थियौं । लागुऔषध पनि सँगसँगै आयो,’ उनले थपे, ‘नौ जना व्यक्तिहरु चोरीमा पनि संलग्न छन् । तिनै मान्छे लागुऔषधमा पनि संलग्न । यहाँ चोरी र लागुऔषध अन्तरसम्बन्धित किन भयो भन्दा सामान चोरेर बेचेर त्यही पैसाले लागुऔषध किनेर खाने प्रवृत्तिले गर्दा लागुऔषध प्रयोगकर्ताहरुचाहिँ बढी चोरीमा संलग्न भए कि भन्ने हाम्रो विश्लेषण छ ।’

स्यान्डल अपरेसनबारे प्रहरी नायब उपरीक्षक रवीन्द्र भन्छन्, ‘जिल्ला प्रहरी कार्यालय मातहतमा भएको चोरी र लागुऔषध सम्बन्धी घटना नियन्त्रण गर्नको लागि कार्यालय प्रमुखज्यूको एउटा कन्सेप्ट हो । कपुरबोट मिडियामा ल्यापटप, क्यामेरा लगायतका सामानहरु चोरी भएको अवस्थामा त्यहाँ केही पाइला देखियो । उपस्थित भएका मान्छेहरुबीच यो पाइला के को हो ? भन्ने जिज्ञासाहरु उत्पन्न भए । कसैले जुत्ताको भने, कसैले गमबुटको हो भने । यो चप्पल हो भन्ने एकजना प्रहरी अनुसन्धानकर्ताको भनाइ आयो र त्यसैअनुसार खोज्दै जाँदा सबै कुरा मिल्न गएको कारणले गर्दा हामीले स्यान्डल अपरेसन सुरु गरेका हौं र यस बीचमा सबैतिर चोरी भएको प्रसंगलाई पनि यो सँगै जोडेर शब्दावली गरेका हौं ।’

कानुनमन्त्रीविरुद्ध प्रधानमन्त्री कार्यालयमा उजुरी

प्रहरीले उक्त घटनामा पाइलाको आधारमा, चप्पलबाटै गाइडेड भएर घटनाको अनुसन्धान गरिकन अभियुक्त पक्राउ गरी सामान बरामद गरेको थियो । 'जसरी त्यहाँ सफलता मिल्यो । त्यसरी नै अन्य ठाउँमा पनि सफलता मिलोस् भनेर सकारात्मक भाइबे्रेसन क्रियट गर्नको लागि र प्रहरीलाई परिचालन गर्नको लागि एउटा बास्केटमा हाल्ने काम गरेका हौं र बास्केटले हामीलाई अहिले नतिजा दिएको छ', प्रनाउ खनालले भने ।

कुन–कुन चोरीका घटनामा को–को पक्राउ ?

जेठ ४ गते बिहान चार बजेतिर भरतपुर–१० स्थित चितवन ग्य्राण्ड रिजेन्सी प्रालिको क्यास काउन्टरबाट ९ हजार नौसय ७० रुपैयाँ नगद चोरी भएको थियो । पक्राउ परेका सुशील प्रजाले चोरी गरेको स्वीकारेको प्रहरीले बताएको छ । ६ गते बिहान ९ बजेतिर भरतपुर–१० स्याउलीबजारमा जोगीको भेषमा आएका दुईजनाले टुुनामुना गरी अबिश बर्तौलाको सुनको मुन्द्रा र नगद चार हजार रुपैयाँसमेत चोरी लगेका थिए । एकजना नितिन नाथ र अर्काे मंजित नाम गरेका ती भारतीयलाई पक्राउ गरी प्रहरीले चोरी भएको मुन्द्रा र नगद बरामद गरेको जनाएको छ ।

जेठ ५ गते साँझ सात बजेको समयतिर अलि मियाको पसल साइडमा पार्किङ गरी राखेको बा८च ९३१७ नं. को टाटा डी आई गाडीको सिसा फुटाई करिब २२ हजारको कपडा चोरीमा संलग्न अशोक नेपालीलाई पक्राउ गरी चोरी भएका कपडासमेत बरामद गरेको प्रहरीले बताएको छ ।
६ गते निता चौधरीले टाँडी चोकमा नेपाल बैंक लिमिटेड अगाडि सुदिप्ना प्रजाले पार्किङ गरी राखेको आठ हजार पर्ने गुलाबी रंगको लेडिज साईकल चोरेकी थिइन् । त्यो साईकल पनि बरामद भएको छ ।

९ गते दिउँसो २ बजेतिर भरतपुर–१८ भुवनबस्तीमा डेरी चोकबाट बेलाबहादुर रानाभाटकोे फ्रिज, ग्यास चुल्हो र ग्याँस सिलिन्डर समेत चोरी भएको थियो । यसमा प्रदीप चौधरी, मौसम महतो र एन्जिल क्षेत्रीलाई पक्राउ गर्दा एउटा फ्रिज बरामद भएको प्रहरी बताउँछ ।

१३ गते बेलुका भरतपुर–११ भोजाडस्थित बंगुर मासु पसलबाट बेन्को कम्पनीको निलो रंगको स्क्रिनटच मोबाइल चोरी भएकोमा प्रहरीले उक्त मोबाइलसहित सुनिल कुमाललाई पक्राउ गरेको जनाएको छ । जेठ १८ गते बिहान ११ बजेतिर रत्ननगर–२ टाँडी चोकस्थित नेपाल बैंक अगाडि सुनिता बगाले पौडेलले पार्किङ गरी राखेको निलो रंगको लेडिज साईकल चोरी गर्ने कालिका–४ की अन्दाजी २५ वर्षीया निता चौधरी पनि साईकलसहित पक्राउ परेकी छिन् ।

निता चौधरीले जेठ ६ गते दिउँसो पनि टाँडी चोकमा नेपाल बैंक लिमिटेड अगाडि सुदिप्ना प्रजाले पार्किङ गरी राखेको रु. आठ हजार पर्ने गुलाबी रंगको लेडिज साईकल पनि चोरेकी थिइन् । त्यो साईकल पनि बरामद भएको छ । जेठ १४ गते पनि उनैले त्यही नेपाल बैंक अगाडि नै पार्किङमा राखिएको कृष्टिना आचार्यको कलेजी रंगको लेडिज साइर्कल चोरी गरेकी थिइन् । त्यो पनि बरामद भएको प्रहरीले बताएको छ ।

१६ गते बिहान भरतपुर–३ कमलनगरबाट चोरी भएको नेपाल टेलिकमको सेवा प्रवाहको लागि जडित १५० पेयरको ५७ मिटर केबल तारसहित मिनबहादुर घिमिरे र बिक्की कुमाल पक्राउ परेका छन् ।

धर्मसँगै पैसा भित्र्याउने यो पो रहेछ धन्दा

१९ गते भरतपुर–९, गुरुकुल मार्गमा रहेको कपुरबोट मिडिया प्रालिबाट केही क्यामेरा, ल्यापटप, मोबाइल लगायतका सामान चोरी भएको भन्दै राजकुमार देउजाले प्रहरीमा जाहेरी दिएका थिए । यसमा एप्पल कम्पनीको एउटा ल्यापटपसहित आकाश लामा र अशिम भट्टराई पक्राउ परेको जानकारी दिइएको छ ।

२० गते दिउँसो साढे १ बजेतिर भरतपुर अस्पतालबाट सानबहादुर गुरुङको साथमा रहेको २४ हजार पाँचसय रुपैयाँ नगद चोरी भएको थियो । चोरी गर्ने कृष्ण परियार पनि उक्त नगदसहित पक्राउ परेको प्रहरीले जनाएको छ ।

२१ गते दिउँसो भरतपुर–१० हिमाली टोलमा विष्णुप्रसाद लामिछानेको घरबाट नगद ९८ हजार र १३ लाख १४ हजार छ सय बराबरको सुनको गहना चोरी भएको घटनमा पक्राउ परेका विश्वास सुनार र गौरव शाक्यको साथबाट एप्पल कम्पनीको स्मार्ट वाच एउटा, मोती हार एकथान र सुनजस्तो देखिने धातुले बनेको रानी हार एकथान बरामद भएको जनाइएको छ ।

२१ गते दिउँसो खैरहनी–८ स्थित पूर्णबहादुर बोहोराको घरमा अज्ञात मानिसहरु प्रवेश गरी तयारी सुनका गरगहना चोरी भएको सूचना प्रहरीले पाएको थियो । सिसिटिभी फुटेजको आधारमा टिकाराम कामी सेनचिउरीलाई पक्राउ गरिएको तर सामान बरामद नभएको बताइन्छ ।

२२ गते साँझ भरतपुर–११ बाट कुमार खड्काको बागमती प्रदेश ०३–००१ह ४८६ नम्बरको अटो चोरी भएको थियो । उक्त अटोसहित चोरी गर्ने शंकर ढकाल पनि समातिएका छन् ।

२३ गते बिहान ४ बजेतिर पनि भरतपुर अस्पताल परिसरभित्रैबाट ज्येष्ठ नागरिक टिकट काउन्टर बाहिर लाइन बसेको अवस्थामा तिलकबहादुर विश्वकर्माको गोजीबाट १४ हजार रुपैयाँ नगद चोरी भएको थियो । चोरी गर्ने पूर्णबहादुर नेपाली पक्राउ परेका छन् । उनको साथबाट नौ हजार रुपैयाँ बरामद भएको प्रहरीले बताएको छ ।

हाकिम हुँदा माओवादी, छोडेपछि कांग्रेस

२६ गते दिनको १२ बजेतिर भरतपुर–३ नौघरेस्थित कुमारी प्रधानको बासुकी दूध डेरी पसलबाट नगद आठ हजार चोरी गर्ने करिम खानलाई सिसिटिभीको आधारमा समाइएको प्रहरीले जानकारी दिएको छ ।

२९ गते राति करिब साढे ११ बजेको समयमा रत्ननगर–१५ माधोपुरस्थित सडकमा बाबुराम महतो र विशालमान जोशीले चोरीको स्कुटरको अगाडि पछाडिको नम्बर प्लेटको भित्र बागमती प्रदेश ०६–००३प ४८५५ र बाहिर बागमती प्रदेश ०२–०४६प ९८२१ नम्बर राखी चलाई ल्याएको अवस्थामा फेला पारी पक्राउ गरिएको बताइएको छ ।

असार ४ गते साँझ पौने छ बजेतिर इच्छाकामना गाउँपालिका–४ लेवाटार बस्ने भीमबहादुर थापा र ठाकुरी माया मगरको घरबाट तिलहरी, भाँडाकुँडा, फ्रिज र औजारहरु चोरी भएको थियो । सन्तोष विक, समिर यादव, बब्लु कुमाल, सुवास सुनार, रेष्मा सुनार, दिपिका सुनार, चाँदनी विक र अनिता गरी आठ जनालाई पक्राउ गरी तिलहरी, भाँडाकुँडा, फ्रिज र औजारहरुसमेत बरामद गरिएको प्रहरीले बताएको छ ।

यो बीचमा ३६ वटा मोबाइल हराएको निवेदन जिल्ला प्रहरी कार्यालयमा आएकोमा फेला परेका विभिन्न २६ वटा मोबाईल हिजै सम्बन्धित धनीलाई फिर्ता गरिएको थियो । यसैबीच, अनलाइन सट्टेबाजी र क्रिप्टो करेन्सीमा संलग्न मानिसलाई पनि समाएर मुद्दा चलाइएको प्रहरी उपरीक्षक गोविन्द पुरीले जानकारी दिए ।
 

टिप्पणीहरू