रवि लामिछानेलाई छुटाउन पैसा संकलन

रवि लामिछानेलाई छुटाउन पैसा संकलन

सहकारी ठगीको मुद्दामा अदालतको आदेशले जेल परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वमन्त्री रवि लामिछानेलाई छुटाउन भन्दै पैसा उठाउने धन्दा शुरु भएको छ । रास्वपाका कार्यकर्ता र रविका समर्थकहरुले क्यूआर कोडमार्फत रकम संकलन अभियान चलाएका हुन् । 

सामाजिक सञ्जालमा तीब्र पारिएको यो अभियानअन्तर्गत देश तथा विदेशमा बस्ने नेपालीले धमाधम पैसा उठाइरहेका छन् । पैसा पठाउने केही व्यक्तिले फेसबुकमा सार्वजनिक गरेको विवरणअनुसार 'राष्ट्रिय स्वतन्त्र पार्टी' नामको बैंक खातामा रकम जम्मा गरेको देखिन्छ । ट्रान्जेक्सन डिटेलमा पैसा पठाउनुको कारण 'रवि दाइलाई समर्थनको लागि' उल्लेख गरिएको छ । 

कार्यकर्ता तहमा पैसा उठाउने क्रम चलिरहँदा रास्वपाले संस्थागत रुपमा 'सभापति बचाऊ अभियान' चलाइरहेको छ । पार्टीको तेस्रो स्थापना दिवसको अवसर पारेर रविको निर्देशनमा केन्द्रीय सचिवालय बैठकको निर्णयअनुसार अभियानअन्तर्गत हस्ताक्षर संकलन भैरहेको छ । 

रास्वपाका नेता-कार्यकर्ता,रविका समर्थकसहित केही नाम चलेका कलाकारले पनि हस्ताक्षर गरेका छन् । अमेरिकामा छँदा रविसँगै बसेका पुराना अभिनेता रमेश उप्रेती र अहिलेका चर्चित अभिनेता विपिन कार्कीले बनस्थलीस्थित रास्वपा कार्यालय पुगेर रविलाई छुटाउने अभियानमा ऐक्यवद्धता जनाउँदै सहिछाप गरेका हुन् । 

जेल सर्ने रविको पत्र जोखिममा

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसूरमा पाँच वटा जिल्लामा मुद्दा खेपिरहेका रवि अहिले भैरहवा कारागारमा छन् । बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा धरौटीमा छोड्ने जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै उच्च अदालत बुटवलले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको हो । 
 
यसबीच रविले काठमाडौँको डिल्लीबजार कारागार आउन कारागार विभागमा निवेदन पनि दिएका थिए । तर, गृह मन्त्रालयले निर्णय नगरेपछि काठमाडौँ आउने चाहना पूरा भएन । भिजिट भिसा प्रकरणमा रास्वपाको उग्रतालाई कतिपयले यसमा जोडेर चर्चा गरेको पाइन्छ । 

जेल सरुवा नभएपछि असार ७ गते रविले भैरहवा कारागारबाटै २० पृष्ठको बिवरण प्रस्तुत गरेका थिए । त्यसैका आधारमा रास्वपाले हस्ताक्षर अभियान चलाएको हो । 

सुशासन, पारदर्शिता र राजनीतिक नैतिकताको नारा उठाएर एकाएक राजनीतिमा उदाएको रास्वपाले आफ्ना सभापतिमाथि सरकारले राजनीतिक प्रतिशोध साँधेको दाबी गर्दै आएको छ ।

रास्वपा र राप्रपालाई छानविन समिति अमान्य

टिप्पणीहरू