सबै प्रधानमन्त्रीको चित्त बुझाएर देशको चित्त दुखाउने भट्ट,अख्तियार केमा लट्ठ ?

सबै प्रधानमन्त्रीको चित्त बुझाएर देशको चित्त दुखाउने भट्ट,अख्तियार केमा लट्ठ ?

सकेसम्म दुहुने,काम र उपयोगिता सकिएपछि वामदेव गौतमलाई जस्तै घर न घाटको बनाउने नेपाली नटवरलालको पछिल्लो हर्कत हो यो- सरकारी सम्पत्ति देख्नासाथ बाँकी नराख्ने उनै बिचौलिया दीपक भट्टको पछिल्लो मिसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) शिकार बन्ने लगभग पक्का भएको छ । त्यसपछिको निशाना  सरकारको ४४.०४ प्रतिशत सेयर स्वामित्व रहेको नेपाल पुनर्बीमा कम्पनी हुनेछ । 

नेपाल रिइन्स्योरेन्समा रेड लेबल,ब्ल्याक लेबल रक्सीको कारोवारी अशोक अग्रवालहरु सँलग्न विशाल ग्रुपको ३.०२ प्रतिशत सेयर स्वामित्व छ । यसवीच उक्त रिइन्स्योरेन्सलाई सिध्याएर आफ्नो लगानीको हिमालयन रिको व्यवसायलाई एकछत्र पार्न दीपक लागिसकेको अर्थ मन्त्रालय श्रोतको दावी छ । यो काममा उनैको सिफारिसमा बीमा प्राधिकरणमा नियुक्त तर योग्यता नपुगेका अध्यक्ष शरद ओझा र नेपाल रिका सिईओ सुरेन्द्र थापाले काँध हालेको देखिन्छ ।

थापा भट्टको जोडबलमा नेपाल रिमा २०८१ जेठमा सिइओ नियुक्त भएका थिए । उनी पछिल्लो समय भट्टका थोरै विश्वासपात्रमध्ये एक भएको बताइन्छ । थापाले धमाधम नेपाल रि को बिजनेश हिमालयन रिलाई बुझाएकोमा त्यहाँका कर्मचारीको दुःखेसो छ । 

प्राधिकरण अध्यक्ष ओझालाई साक्षी राखेर लिखित रुपमा वैदेशिक म्यादी बीमालेखसम्बन्धी कारोबार हिमालयन रिलाई बुझाएका थापाले मोटर बीमासम्बन्धी काम पनि हिमालयन रिलाई सुम्पन लागेका छन् । आफूले जिम्मा लिएको सरकारी निकाय सिध्याउन लागेपछि पदीय दुरुपयोग गरेको भन्दै नेपाल रिका कर्मचारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग गुहार्न लागेका छन् ।

नेपाल रिलाई मोटर बीमाबापत वार्षिक १८ करोड रुपैयाँ नाफा हुँदै आएको थियो । तीन वर्षका लागि हिमालयन रिलाई बुझाउँदा नेपाल रिलाई ५८ करोडभन्दा बढी नोक्सान हुने कर्मचारीहरुको हिसाब छ ।

थापाले वैदेशिक म्यादी बीमा हिमालयन रिलाई दिन खोजेपछि नेपाल रिका कर्मचारीले विरोध जनाएका छन् । भट्टको निर्देशनअनुसार सिइओ थापाले मोटर बीमाको समेत हिमालयन रिलाई बुझाउन लागेकोमा नेपाल रि स्वतन्त्र कर्मचारी युनियनले विरोध जनाइसकेको छ । 

नेपाल रिलाई मोटर बीमाबापत वार्षिक १८ करोड रुपैयाँ नाफा हुँदै आएको थियो । तीन वर्षका लागि हिमालयन रिलाई बुझाउँदा नेपाल रिलाई ५८ करोडभन्दा बढी नोक्सान हुने कर्मचारीहरुको हिसाब छ । ‘यस कम्पनीको दीर्घकालीन अस्तित्वलाई ध्वस्त पार्ने गरी केही समयदेखि हुदै आएका चलखेल तथा शंकास्पद क्रियाकलाप सबैसामु छर्लङ्ग नै थियो । सोही क्रममा एफीइ पुल बिजनेश यसअघि नै दिँदासमेत यस कम्पनीको व्यवस्थापन तह सञ्चालकका तर्फबाट एक संक्षिप्त विज्ञप्तीसमेत जारी गर्न नसकी मौन सहमति दिएको सम्पूर्णमा अवगत नै छ,’ युनियनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

कम्पनीको सर्वाधिकार रहेको ‘मोटर टीपीएल’ व्यवसायसमेत कर्मचारीहरुको भरमग्दुर प्रयासका बाबजुद कम्पनीका केही उच्च व्यवस्थापक तथा नीति निर्माण तहका अधिकारीहरु नै पदिय जिम्मेवारीवाट च्यूत भई कम्पनीलाई धरासायी पार्ने खेलमा लागेको उनीहरुको ठहर छ । उक्त कार्यप्रति नेपाल रि स्वतन्त्र कर्मचारी युनियनको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै लेखिएको छ, ‘उक्त गलत प्रक्रियामा संलग्न अधिकारीहरुलाई तत्काल कारबाही गरी सरकारको समेत लगानी रहेको कम्पनीको भविष्यलाई संरक्षण गर्न व्यवस्थापन तथा सञ्चालक समितिसमक्ष गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौँ ।’

हिमालयन रिमा दिपक भट्टको इन्फिनिटी होल्डिङ्स प्रालिको ४.५० प्रतिशत सेयर छ । नेपाल रिमा रहेको विशाल ग्रुपको स्वामित्वको आडमा पछिल्लो चलखेल भएको धेरैको बुझाइ छ ।

टिप्पणीहरू