दश महिनामा राजस्वका हाकिमले गरे दर्जनौँ काम
राजस्व अनुसन्धान विभागका महानिर्देशक चण्डी प्रसाद घिमिरे आजदेखि अनिवार्य अवकाशमा जाँदैछन् । चार दशक लामो निजामती सेवाबाट उनी सेवा निवृत्त हुन लागेका हुन् ।
२०८१ भदौ ७ गते विभागको महानिर्देशक भएका घिमिरे त्यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत थिए । विभागको दश महिने कार्यकालसँगै अनिवार्य अवकाशमा जान लागेका उनले आफूले गरेका कामको फेहरिस्त सार्वजनिक गरेका छन् ।
ज ललितपुरको हरिहरभवनस्थित राजस्व अनुसन्धान विभागको आफ्नै कार्यकक्षमा पत्रकार भेटघाट गर्दै उनले दश महिने कार्यकालमा आफूले राजस्व चुहावट नियन्त्रणदेखि विभिन्न सुधारका कामहरु गरेको दाबी गरे । आफ्नो नेतृत्वमा चालु आर्थिक वर्ष २०८१–८२ को जेठ मसान्तसम्म राजस्व चुहावटतर्फ १६० जना प्रतिवादीउपर ४८ वटा अभियोगपत्र दायर गरेको उनको जानकारी दिए ।
घिमिरेका अनुसार राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ बमोजिम प्रतिवादीविरुद्ध दुई अर्ब ५९ करोड बिगो तथा शतप्रतिशत जरिवानासहित पाँच अर्ब १९ करोड मागदाबीसहित उच्च अदालतमा मुद्दा दायर भएको छ ।
त्यस्तै, भन्सार चोरी पैठारी, जाँचपास, ट्रान्सपोर्ट कम्पनीबाट आएका ढुवानी साधनहरुको चेकजाँच गरी मूल्याङ्कन, वर्गीकरण र परिमाणमा कैफियत, प्राप्त सूचनाका आधारमा आकस्मिक निरीक्षण गरिएका फर्म–कम्पनीबाट राजस्व चुहावट भएको ठहर गर्दै एक अर्ब १६ करोड धरौटी मागिएको महानिर्देशक घिमिरेले जनाएका छन् ।
‘विभागमा जम्मा भएको धरौटी रकममध्ये रीत पुगेको धरौटीको सदरस्याहा भएको र ऐनको दफा १३ क (२) बमोजिम सीमाभित्रको राजस्व चुहावटको रकम ५५ करोड १८ लाख आन्तरिक राजस्व विभाग तथा भन्सार विभागमा राजस्व असुल गर्न लेखी पठाइएको छ,’ उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
राजस्व चुहावट नियन्त्रण आफैंमा चूनौतीपूर्ण विषय रहेको उल्लेख गर्दै उनले भनेका छन्, ‘मेरो छोटो कार्यकालमा विभाग तथा कार्यालयहरुबाट अनुसन्धान, अभियोजन, छलफल अन्तरक्रिया, गस्ती परिचालन गरी भन्सार राजस्व परिचालन तथा आन्तरिक राजस्व परिचालनमा महत्त्वपूर्ण योगदान पुर्याएको हाम्रो ठम्याई छ ।’
यस अवधिमा पूर्णतया तथ्यमा आधारित भएर सूचनाको स्क्रिनिङ्ग, वस्तुनिष्ठ र अनुसन्धान तहकिकात गरेको दाबी घिमिरेको छ । विभागको क्षेत्राधिकारमा रहेको अर्को महत्त्वपूर्ण विषय विदेशी विनिमय अपचलन नियन्त्रण रहेकोमा आफ्नो कार्यकालमा त्यस्ता गतिविधिमा संलग्न १६१ जना प्रतिवादीउपर मुद्दा दर्ता गरिएको उनले जानकारी दिएका छन् ।
ती प्रतिवादीविरुद्ध सँग एक अर्ब २६ करोड बिगो र शतप्रतिशत जरिवाना गरी पाँच अर्ब बढी मागदाबीसहित सम्बन्धित जिल्ला अदालतमा अभियोग पत्र दायर गरेको विज्ञप्तिमा उल्लेख छ । राजस्व चुहावट नियन्त्रणका लागि विभागले प्रयोगमा ल्याएको भीसीटीएस, भन्सार विभागको आशिकुँडा वर्ल्डर आन्तरिक राजस्व विभागको आईटीएस प्रणालीलाई नियमित सुक्ष्म, अनुगमन र विश्लेषण गरी जोखिमको आधारमा कारबाही गर्दै आएको पनि जनाइएको छ ।
‘यसै प्रसङ्गमा विभागको भीसीटीएस प्रयोग र परिपालनाको निगरानी गर्दा ०८२ जेठ मसान्तसम्म जम्मा एक हजार २६० वटा फर्म तथा कम्पनीउपर कारबाही गरी चार करोड २४ लाख रुपैयाँ जरिवाना तिराएको छ,’ महानिर्देशक घिमिरेले भनेका छन् ।
उनका अनुसार अनुसन्धानबाट सेवा क्षेत्रअन्तर्गत कुरियर सेवामा ठूलो परिमाणमा मूल्य अभिवृद्धि तथा आयकर छलेको, अवैध सुन, चाँदी तथा बहुमूल्य धातुको कारोबार, नक्कली बिल बीजकको प्रयोग, भेप, ब्रान्डेड मदिरा तथा जुत्ताको चोरी पैठारी तथा भारतीय यात्रु बसमा फल्स बटम बनाएर चोरी पैठारी गरी राजस्व छलेको पाइएको छ । उनले भने, ‘महानिर्देशकको रुपमा मेरो नेतृत्वले लिएको अनुसन्धानको रणनीति र कार्य सम्पादनबाट यस विभागको छवि उच्च भएको र नीजि क्षेत्र तथा व्यवसायीहरुबाट समेत सकारात्मक प्रतिक्रिया प्राप्त भएको हुँदा यस विभागले आगामी दिनमा थप प्रभावकारी कार्य गरी वैध व्यापारलाई प्रोत्साहन तथा अवैध व्यापारलाई कारवाहीको दायरमा ल्याउन हौसला मिलेको छ ।’

टिप्पणीहरू