इन्डोनेसियामाथि नेपालको कीर्तिमानी जित

इन्डोनेसियामाथि नेपालको कीर्तिमानी जित

एसीसी यु–१६ इस्ट जोन कप क्रिकेटमा नेपालले कीर्तिमानी जित निकालेको छ । आइतबार दिउँसो भएको खेलमा इन्डोनेसियालाई ३ सय ७० रनले हराउँदै नेपालले जारी प्रतियोगितामा लगातार तेस्रो जित निकालेको हो ।

जितको लागि ४ सय २१ रनको विजयी लक्ष्य पछ्याएको इन्डोनेसिया २४.३ ओभरमा अलआउट हुँदै ५० रनमा समेटिएको हो । इन्डोनेसियाको लागि कभिन निरज चड्डाले १५ र डिभिट नान्डाले १४ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

नेपालको लागि कप्तान विपिन प्रसाद शर्माले ७.३ ओभरमा १२ रन दिएर ६ विकेट लिँदा सुगम बुढाथोकी र शुभम खनालले एकरएक विकेट लिए । यसअघि मलेसियाको क्वालालम्पुरमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभर खेल्दै ५ विकेटको क्षतिमा ४ सय २० रनको योगफल तयार पारेको थियो ।

नेपालका लागि ओपनर प्रशिद्ध जैसीले १ सय ३२ रनको योगदान गरे । १ सय १४ बल खेलेका प्रशिद्धले १५ चौका र १ छक्का प्रहार गरेका थिए । यस्तै, रौनक श्रीवास्तवले ८८, परिमार्जन यादवले ७१ र जोय थापाले ५७ रनको योगदान दिए । यसैगरी, सुगम बुढाथोकी ३९ र रोशन शाही १० रनमा अविजित रहे ।

जितसँगै नेपाल ३ खेलबाट ६ अंक जोड्दै समूह 'ए'को शीर्ष स्थानमा रहेको छ । समान खेलबाट २ अंक जोडेको इन्डोनेसिया चौथो स्थानमा रहेको छ । नेपालले यसअघि सिंगापुरलाई ५ विकेट र जापानलाई ९ विकेटले पराजित गरेको थियो ।
 

टिप्पणीहरू