‘सांसदहरुलाई कुरीकुरी’
प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाको राजीनामा मागेको छ । सभापति खतिवडाकै मिलेमतोमा निजामती विधेयकमा राखिएको ‘कुलिङ अफ पिरियड’ मा चलखेल भएको उसको ठहर छ ।
कुलिङ पिरियडको व्यवस्था हटाउन चलखेल भएको खबर बाहिरिएपछि आज बिहान सभामुख देवराज घिमिरले समिति सदस्यहरुसँग छलफल गर्नुभएको छ । त्यसपछि माओवादी उपमहासचिव जनार्दन शर्माले समिति सभापति र सचिवले राजीनामा दिनुपर्ने धारणा राखेका हुन् ।
‘सभापतिले मलाई थाहा छैन, सचिवले लेखेको होला भन्नुभएको छ, तर यो पत्याउने कुरा होइन, यस्ता कुरा स्वाभाविक ढंगबाट हुँदैन’, उनले भने, ‘कुलिङ पिरियडसम्बन्धी विषयमा जुन स्तरको षड्यन्त्र र बदमासी भएको छ, त्यो अत्यन्त्यै तुच्छ कार्य हो, उहाँहरुले राजीनामा दिनुपर्छ ।’
माओवादीकै अर्का सांसद माधव सापकोटाले पनि समिति सभापति र सचिवले तत्काल राजीनामा दिनुपर्ने बताए । ‘कानुनी हिसाबले उहाँकै संलग्नता छेडखानी भएको छ, उहाँले मेरो संलग्नता छैन भने पनि उहाँकै हस्ताक्षर देखिएको छ, त्यसैले नैतिक रुपमा सभापति र सचिवले तत्काल राजीनामा दिनुपर्छ’, उनले भने ।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले पनि सभापति खतिवडाको राजीनामा माग गर्दै छानविन गर्नुपर्ने बताएको छ । पार्टी प्रवक्ता मनिष झाले सभापति खतिवडालाई आफ्नो नालायकीपन स्वीकार गर्न सुझाव समेत दिएका छन् । ‘सभापतिज्यू, निजामती विधेयकमा तपाईले संघीय सदनको रोस्टमबाट टेबल गरेको भन्दा फरक कुरा कसरी आयो ?’, उनले भनेका छन्, ‘की यो सुधार्नुस्, कि आफूले गरेको नालायकीपन स्वीकार गरेर समितिबाट राजीनामा दिनुस् ।’
प्रवक्ता झाले विधेयक पढ्दै नपढी ‘हुन्छ’ र ‘हुँदैन’ भन्ने सांसदहरुलाई गतिलो झापड पुगेको पनि टिप्पणी गरेका छन् । ‘पढ्दै नपढेर हुन्छ वा हुँदैन भन्नेहरूलाई कुरीकुरी !’, उनले थपेका छन् ।
टिप्पणीहरू