नेपाल यु-१६ इस्ट जोन कपको सेमिफाइनलमा

नेपाल यु-१६ इस्ट जोन कपको सेमिफाइनलमा

एसीसी यु-१६ इस्ट जोन कप प्रतियोगितामा नेपालले लगातार चौथो जित निकालेको छ ।

मंगलबार दिउँसो भएको समूह चरणको आफ्नो अन्तिम खेलमा भुटानलाई २ सय ९८ रनले हराउँदै नेपाल समूहको शीर्ष स्थानमा रहेर सेमिफाइनल पुगेको हो । 

जितको लागि ३ सय ५९ रनको विजयी लक्ष्य पछ्याएको भुटान ३२.४ ओभरमा अलआउट हुँदै ६० रनमा समेटियो । भुटानको लागि त्शेजाङ दावाले १४ र उगेन क्लाजाङ चोफेलले १० रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

नेपालको लागि बिपिन प्रसाद शर्माले चार विकेट लिँदा सुयोग भट्टराई र सचिन भट्टले समान दुई/दुई विकेट लिए । यसअघि मलेसियाको सेलाङ्गोर टर्फ क्लब क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले ५० ओभरमा पाँच विकेट गुमाएर ३५८ रन बनाएको थियो  ।

नेपालका रौनक श्रीवास्तवले शतक बनाए । उनले एक सय ३२ बलमा एक सय ६८ रन बनाए । यस्तै जोय थापाले अविजित ६१, सिवान्स बजगाईँ ५४ र सुगम बूढाथोकीले ३५ रन बनाए । भुटानका सन्जय डोर्जीले तीन विकेट लिए ।
यस्तै तेन्जिन लोडे जमत्सोले एक विकेट लिए । 

जितसँगै नेपाल ४ खेलबाट ८ अंक जोड्दै समूह 'ए'को विजेता बनेको छ भने सिंगापुर ६ अंकसहित समूह उपविजेता बनेको छ । भुटान भने चार खेलमा जितविहिन बन्दै प्रतियोगिताबाट बाहिरिएको छ ।

अब नेपालले सेमिफाइनलमा समूह 'बी'को दोस्रो स्थानमा रहँदै अन्तिम चारमा पुगेको मलेसिया र समूह 'बी'को विजेता हङकङ ,चीनले समूह 'ए'को उपविजेता सिंगापुरसँग खेल्नेछ ।

सेमिफाइनलका खेल बिहीबार हुनेछन् । प्रतियोगिताको फाइनल खेल असार २१ गते शनिबार हुनेछ ।

टिप्पणीहरू