सरकारी अनुदान अस्वीकार, नागरिक हितमा प्रयोग गर्न सुझाव

आफ्नो संगठनले अनुदान नमागेको अवस्थामा छुट्याइएको भन्दै नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले विरोध जनाएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा छुट्याइएको एक करोड रुपैयाँ अनुदान लिन सेजनले अस्वीकार गरेको छ ।
मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२–८३ को वार्षिक विकास कार्यक्रमको बजेट उपशीर्षक नम्बर २१ मा ‘सेजनलाई सञ्चालन अनुदान एक करोड रुपैयाँ विनियोजन’ गरेको जानकारी पाएपछि अस्वीकार गरिएको हो । जारी विज्ञप्तिमा सेजनले मन्त्रालयसँग कुनै पनि बजेट नमागेको र हालसम्म कुनै पनि निःशर्त अनुदान स्वीकार नगरेको उल्लेख छ ।
विज्ञप्तिमा लेखिएको छ, ‘सेजन र यसका सदस्यहरुले बजेट अनुशासन एवम् वित्तिय स्रोत उपयोगको प्रभावकारिताबारे सरकार र यसका निकायहरुमाथि निरन्तर खबरदारी गर्दै आएको छ । यस परिप्रेक्ष्यमा एक करोड रुपैयाँको निःशर्त अनुदान स्वीकार गर्नु सेजनको आफ्नै विरासत र संस्थागत मौलिकताको समेत विपरीत हुने देखिएको ।’
त्यसमाथि वित्तिय स्रोत अभाव झेलिरहेको सरकारले नागरिकको आधारभूत आवश्यकता र जीवन रक्षामा लगानी गर्न जरुरी रहेको उल्लेख गर्दै सेजनले थपेको छ, ‘जनताको करबाट प्राप्त स्रोतको नागरिक हितमा अधिकतम उपयोग गर्नसक्ने विकल्प छोडेर जिम्मेवार पत्रकारहरुको छाता संस्थाले बजेट उपयोग गर्नु हाम्रो पेशागत धर्म र मर्यादाको समेत खिलाफ हुनेछ ।’
टिप्पणीहरू