बेपत्ता ड्राइभर पक्राउ, घाइते वृद्धा भेन्टिलेटरमा
गत शनिबार राति साढे आठ बजेतिर भरतपुरमा पैदलयात्रीलाई ठक्कर दिएर फरार भएको स्कुटर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
भरतपुर–१९ शारदानगरस्थित सर्वाेदय बोर्डिङ स्कूल अगाडि नम्बर नखुलेको सेतो रंगको स्कुटरले पैदलयात्री स्थानीय ७८ वर्षीया धनकुमारी क्षेत्रीलाई ठक्कर दिँदा वृद्धा गम्भीर घाइते भएकी थिइन् । चितवन मेडिकल कलेजमा उनको उपचार भइरहेको छ ।
अस्थायी प्रहरी पोष्ट शारदानगरबाट प्रहरी सहायक निरीक्षक टेमप्रसाद तिमिल्सिना र इलाका प्रहरी कार्यालय चनौलीबाट समेत प्रहरी निरीक्षक बिक्रम रिजालको कमाण्डमा टोली खटिएर फरार स्कुटर र चालकको खोजतलास भइरहेकोमा बा९७प ७३३८ नम्बरको स्कुटर र चालक गोरखा घर भई हाल भरतपुर–१५ गोपालगञ्ज बस्ने वर्ष ४५ को कृष्ण अधिकारीलाई हिजो साँझतिर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
दुर्घटनाको समय, स्कुटरको रंग, चालकले लगाएको कपडा यी सबैको आधारमा सिसिटिभी फुटेज हेर्दै उक्त अनुहारको मानिस खोज्दै जाँदा भरतपुर–१५ फूलबारीबाट स्कुटर र चालकलाई नियन्त्रणमा लिइएको चनौलीका प्रहरी निरीक्षकले बताए । उनले भने, ‘धेरै प्रहरी युनिट यसमा परिचालित भएको छ ।’
भूपू आर्मी बताउने कृष्ण अधिकारीले सेक्युरिटी गार्डको ड्युटीमा जाँदै गर्दा उक्त दुर्घटना हुन पुगेको बताए । उनको पनि घुँडामा चोट लागेको देखिन्छ ।
घाइते वृद्धाको अहिले सिएमसीमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको उनका छोरा टंकबहादुर क्षेत्रीले बताएका छन् । उक्त दुर्घटनामा परी आमाको देबे्र हात र खुट्टा भाँचिएको अनि करङ पनि टुटेको उनले बताएका छन् ।
टिप्पणीहरू