गभर्नरका कारण बैंकिङ तरंगित, सर्वसाधारण सशंकित

गभर्नरका कारण बैंकिङ तरंगित, सर्वसाधारण सशंकित

नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले संसदको अर्थ समितिको बैठकमा राखेका धारणाले आर्थिक तथा बैंकिङ क्षेत्र एकाएक तरंगित भएको छ । राज्यको सबैभन्दा विश्वासिलो ठानिएका बैंक तथा वित्तीय संस्थामा निक्षेप जम्मा गरेका सर्वसाधारण सशंकित हुन पुगेका छन् । बैंक तथा वित्तीय संस्थाको आयु २५ देखि ३० वर्षको हुनुपर्ने भन्दै गभर्नरको बेतुकको धारणा सार्वजनिक भएपछि राज्यका थोरै स्थीर क्षेत्रमध्ये एक रहेको बैंकिङ प्रणाली एकाएक हल्लिएको छ ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) मा संशोधनबारे धारणा राख्न पुगेका गभर्नर पौडेलले जलविद्युत् आयोजना, टेलिकममा जस्तै बैंक तथा वित्तीय संस्थाहरुको लाइसेन्स (इजाजत) को पनि समयसीमा तोक्नुपर्ने बताएका छन् । केही वर्षअघि केन्द्रीय बैंकको सञ्चालक रहेका चार्टर्ड एकाउन्टेन्ट सुवोधकुमार कर्णले बैंकका विभिन्न समितिको बैठकमा मुलुकमा सर्वाधिक सुशासन र प्रणालीगत संरचना रहेको संस्थाको रुपमा नेपाल वायुसेवा निगमको नाम लिन्थे । राष्ट्र बैंकमा आफूले चाहे अनुसारको बैठक राख्न र काम फत्ते गर्न त्यहाँको नियम, कानुन र अन्तर्राष्ट्रिय प्रणालीले रोकेपछि कर्णले केही वर्षअघि निगमलाई सुशासनले भरिपूर्ण संस्थाको उपमा दिएका हुन् । 

यता पौडेल गभर्नरमा नियुक्त भएको डेढ महिना पुगेको छ । उनी स्विट्जरल्याण्डस्थित बैंक फर इन्टरनेसनल सेटलमेन्ट (बीआईएस) को ९५ औं वार्षिक बैठकमा भाग लिएर हिजो मात्रै स्वदेश फर्केका हुन् । बीआईएसलाई विश्वका अधिकांश मुलुकका केन्द्रीय बैंकहरुको पनि बैंक भन्ने गरिन्छ । तर, सोही बैंकको वार्षिक बैठकमा भाग लिएर फर्केका गभर्नरले आज बैंक तथा वित्तीय संस्थाहरुको स्थायित्वमाथि नै प्रहार गरेका छन् । 

उनले भनेका छन्, ‘धेरैजसो लाइसेन्सहरूको आयु हुन्छ तर बैंकहरूको एक अर्थमा लाइसेन्सको आयु छैन । हामी नयाँ बैंकहरू पनि आउन दिइरहेका हुँदैनौं । त्यो अर्थमा बैंकको लाइसेन्स भनेको के हो ? भन्ने प्रश्न पनि उठिरहेको हुन्छ ।’ जलविद्युत आयोजनाको लाइसेन्स ३० वर्षको हुने र त्यसपछि सरकारको हुने र टेलिकमहरूको पनि त्यस्तै हुने तर बैंकको नहुने भनेर उनले अचम्मको सन्दर्भ उठाएका छन् ।

पौडेलले भनेका छन्, ‘यदि लाइसेन्स अनन्तकालीन हो भने प्रतिष्पर्धा बढाउन बजार प्रवेशमा रहेका अवरोधहरू कम गर्नुपर्यो, नत्र लाइसेन्सको पनि निश्चित अवधि तोकिनुपर्छ ।’ सर्वसाधारणले केन्द्रीय बैंकको विश्वासमा उसले इजाजत अनुमतिपत्र दिएका बैंक तथा वित्तीय संस्थाहरुमा ढुक्कसँग नगद जम्मा र कारोबार गर्दै आएका छन् । गभर्नरले जलविद्युत कम्पनीसँग तुलना गर्दै बैंक तथा वित्तीय संस्थाको महत्व र आवश्यकतालाई सीमित पुँजी बजारतर्फ लक्षित गरेपछि भोलिदेखि यसको असर बजारमा देखिने निश्चित छ । कतिपयले उनको पछिल्लो धारणालाई सम्पत्ति विवरणमा उल्लेखित हाइड्रो र अन्य ऊर्जा कम्पनीको करोडौंको सेयरसँग पनि जोडेर हेर्नुपर्ने बताएका छन् ।

गभर्नरले बैंकिङ प्रणालीमा रहेको ७० खर्बको नगद तरलतालाई बैंकहरुको पुँजी भनेका छन् । जबकी पुँजी र नगद तरलताको अर्थबीच आकाश जमिनको फरक छ । गत बैशाखमा गभर्नर नियुक्तिको रस्साकस्सी चलिरहँदा राष्ट्र बैंकबाट अवकाशप्राप्त एकजना कार्यकारी निर्देशकले पौडेललगायत चर्चामा आएका विभिन्न उम्मेदवारतर्फ संकेत गर्दै सामाजिक सञ्जालमा लेखेका थिए, ‘आगामी पाँच वर्ष केन्द्रीय बैंक र बैंकिङ प्रणालीको टर्मिनोलोजी (विशेष शब्द) घोक्दै र त्यसको अर्थ बुझ्दैमा उनीहरुको कार्यकाल सकिने छ ।’ गभर्नरको आजको धारणाले ती कार्यकारीको पूर्वानुमान ५८ महिना अगावै पुष्टि गरिदिएको छ ।

बैंकले हालै आयोजना गरेको वार्षिक बजेट तथा व्यवस्थापन गोष्ठीमा गभर्नर पौडेलले राखेको एउटा प्रश्नले पनि उनी केन्द्रीय बैंकका काम कारबाहीसँग कुनै हालतमा परिचित नरहेको प्रमाणित गराएको छ । असार ६ र ७ गते काठमाडौंको एउटा पाँँचतारे होटलमा आयोजित गोष्ठीको पहिलो दिन उनी अनुपस्थित भए । बैंकका सबै विभाग, कार्यालयको अघिल्लो वर्षको समीक्षा र आगामी वर्षको बजेट र कार्यक्रम तय गर्न डाकिने उक्त कार्यक्रमलाई उच्च व्यवस्थापनले बैंक भित्रका कामकारबाहीलाई बुझ्ने गतिलो फोरमको रुपमा लिइन्छ । तर, उनी भोलिपल्ट मात्रै सहभागी भए र ७० वर्षदेखि केन्द्रीय बैंकले नेपाली भाषामा प्रयोग गर्दै आएको शब्दप्रति उनले असन्तुष्टि जनाएको बताइन्छ । 

स्रोतका अनुसार बैंकले अन्य बैंक तथा वित्तीय संस्था र विदेशी संघ संस्थासँग अंग्रेजीमा पत्राचार गरे पनि आन्तरिक अभिलेख र प्रतिवेदन नेपालीमा तयार गर्छ । बैंकले ट्रेनिङलाई नेपालीमा अनुशिक्षण र कम्प्लायन्सलाई अनुपालना लेख्ने गरेको छ । तर, गभर्नर पौडेलले अनुशिक्षण र अनुपालना शब्दप्रति असहमति जनाउँदै गम्भीर रुपमा प्रश्न उठाएका थिए । गभर्नरको भनाईबाट अचम्मित कार्यकारी तथा निर्देशकहरु गोष्ठीमा सहभागी तत्कालीन कार्यवाहक गभर्नर एवम् हालकी डेपुटी निलम ढुंगानामाथि मनमनै प्रश्न गर्दै थिए, ‘गत वैशाखमा भुइँको टिप्न खोज्दा पोल्टाको पोखिएको देखियो ?’

 

टिप्पणीहरू