तस्करहरुको गोली लागेका आधा दर्जन सशस्त्र प्रहरीको उपचार जारी

धनुषामा हिजो बेलुकी तस्करहरुको गोली प्रहारबाट घाइते सशस्त्र प्रहरीहरुको उपचार जारी छ । भारतीय सीमावर्ती क्षेत्र विदेह नगरपालिका–२, दुहबीमा सशस्त्र प्रहरी बल र तस्कर समूहबीच भएको भिडन्तमा सशस्त्र प्रहरी बलका प्रहरी नायव उपरीक्षक (डिएसपी) दिनेश शर्मालगायत छ जना सुरक्षाकर्मी घाइते भएको बताइन्छ । उनीहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।
सीमा क्षेत्रमा भारतबाट ल्याएर लुकाएर राखेको तस्करीका सामान नियन्त्रणमा लिने क्रममा झडप भएको हो । सुरक्षाकर्मीमाथि अचानक आक्रमण भएपछि आत्मरक्षाका लागि १२ राउण्ड अश्रुग्यास र चार राउण्ड हवाई फायर गरिएको थियो । तर तस्करहरुले भारतीय भूमिबाट अन्धाधुन्द गोली चलाउँदा सुरक्षाकर्मी घाइते भएका हुन् ।
घटनाबारे थप अनुसन्धान थालिएको छ भने आवश्यक कारबाहीका लागि सुरक्षा संयन्त्र परिचालन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
टिप्पणीहरू