हर्क साम्पाङकाे श्रम शिविरमा बालिकामाथि याैन दुर्व्यवहार

हर्क साम्पाङकाे श्रम शिविरमा बालिकामाथि याैन दुर्व्यवहार

धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले चलाएको श्रमदानमा खटिएकी एक बालिकामाथि यौन दुर्व्यवहार भएको खुलेको छ । 

वैशाख १७ गते धरान-१६ स्थित बहुभाषिक पाठशालामा चलेको श्रमदानका क्रममा भएको उक्त घटना अहिले बाहिर आएको हो । प्रहरीले बालिकामाथि यौन दुर्व्यवहार गर्ने ४९ वर्षीय खगेन्द्र राईलाई पक्राउसमेत गरिसकेको छ । 

बताइएअनुसार मेयर साम्पाङको आह्वानमा त्यो दिन खगेन्द्र श्रमदाताहरुका लागि खाना पकाउने र खुवाउने काममा खटिएका थिए । त्यसैक्रममा उनले मौकाछोपी पीडित भनिएकी बालिकालाई फकाएर श्रमस्थलभन्दा केही टाढा रहेको खोल्सामा लगेर गोप्य अंग छुने प्रयास गरेको प्रहरीले जनाएको छ । 

ती बालिकाआफ्नी आमासँग त्यहाँ सहभागी हुन पुगेकाे बताइएको छ । त्यतिबेला बालिकाकी आमाले प्रहरी बोलाउन खोजे पनि अन्य व्यक्तिले खगेन्द्रलाई ‘मानसिक विरामी’ भन्दै उन्मुक्ति दिएको दाबी गरिएको छ । 

केही दिनअघि बालिकाका आफन्तले खगेन्द्रसहित उनलाई उन्मुक्ति दिन खोज्ने दुई जनाविरुद्ध प्रहरीमा जाहेरी दिएपछि घटना सतहमा आएको हो । उता मेयर साम्पाङले भने साढे दुई महिनासम्म कुरा लुकाएको भन्दै पीडित परिवारमाथि नै शंका गरेका छन् । 

श्रमदानको बदनाम गराउन बालिकाका आफन्तले नियोजित रुपमा जाहेरी दिएको साम्पाङको दावी छ । ‘यत्रो समयसम्म घटना किन लुकाएको ? यति दुर्व्यवहार प्रमाणित भए म कारबाही गर्छु, नत्र माफी माग्नुपर्छ’ उनले फेसबुकमा भनेका थिए, ‘यदि यस्तो होइन रहेछ भने आरोप लगाउनेले माफी मागेर कसले यस्तो भन्न लगाएको हो बाहिर ल्याउनुपर्छ ।’ 

यद्यपि, साम्पाङले उक्त स्टाटस अहिले फेसबुकबाट डिलिट गरिसकेका छन् ।

टिप्पणीहरू