स्यानिटरी प्याडमा पुरुष नेताको फोटो राखेपछि बबाल

स्यानिटरी प्याडमा पुरुष नेताको फोटो राखेपछि बबाल

भारतको विहारमा हुन गइरहेको विधान सभाको निर्वाचनअघि भारतीय राष्ट्रिय काँग्रेस पार्टीले अपनाएको चुनावी प्रचार अभियान विवादमा परेको छ । काँग्रेसले महिलाहरुलाई निःशुल्क वितरण गरेको स्यानिटरी प्याडमा राहुल गान्धीको तस्बिर प्रयोग गरेपछि सर्वत्र आलोचना भएको छ ।

आगामी अक्टोबर–नोभेम्बरमा त्यहाँ विधान सभाको चुनाव हुँदैछ । त्यसैका लागि काँग्रेसले महिलाहरुमा महिनावारी स्वच्छताबारे सचेतना फैलाउने उद्धेश्यसहित नेता गान्धीको तस्बिर अंकित स्यानिटरी प्याड निःशुल्क वितरण गर्दै चुनावी प्रचार अभियान थालेको छ । 

काँग्रेसको विहार राज्य समितिका अध्यक्ष राजेश कुमारले हालै आयोजित कार्यक्रममा स्यानिटरी प्याड वितरण अभियानको उद्घाटन गरेका हुन् । त्यस्तो प्याड पाँच लाख महिलालाई वितरण गरिने जानकारी दिइएको छ । उनले भने, ‘आमा र दिदीबहिनीको सम्मान योजनाअन्तर्गत यो निःशुल्क प्याड वितरण अभियान चलाइएको हो । यसले महिलालाई महिनावारीसम्बन्धी चेतना जगाउने छ । यस्तो प्याड पाँच लाखभन्दा बढी डिब्बा उत्पादन गरेका छौँ ।’ 

तर, यतिबेला काँग्रेसले प्याडमा नेता गान्धीको तस्बिर छाप्नु नै ठूलो गल्ती सावित भएको छ । सत्तारुढ पार्टी भारतीय जनता पार्टीले आपत्ति जनाइसकेको छ । सर्वसाधारणले समेत ‘तल्लोस्तरको प्रचार’ भन्दै आलोचना गरिरहेका छन् । 

भाजपाका प्रवक्ता कुन्तल कृष्णले महिलाहरुको लागि निकै संवेदनशील मानिने प्याडमा पुरुषको तस्बिर प्रयोग गरेर काँग्रेसले घुमाउरो अपमान गरेको बताए । यसमा काँग्रेसले विवेक गुमाएको उनको ठहर छ । 

‘विहारका महिलाहरुलाई प्याड आवश्यक छैन, त्यो सरकारले नै वितरण गर्दै आएको छ’, उनले भनेका छन्, ‘तर विधान सभा चुनाव हार्ने डरले चिन्तित बनेको काँग्रेसले प्याड वितरण गरेर, त्यो पनि पुरुष नेताको तस्बिर छापेर, घिनलाग्दो र अपमानजन्य काम गर्यो ।’

त्यस्तै काँग्रेससँग गठबन्धन गरेको राष्ट्रिय जनता दलका प्रवक्ता निरज कुमारले पनि विरोध गरेका छन् । उनले कटाक्ष गर्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘काँग्रेसलाई के भयो ? यसको मस्तिष्क ठीकै त छ ? के भइरहेको छ यहाँ ?’

टिप्पणीहरू