मुख्यमन्त्रीको योजनामा मन्त्रीको रजाइँ

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नै क्याबिनेटका उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेका छन् । बहालरत मन्त्रीको जिम्मेवारीमा रहँदा आर्थिक संकलन÷अपचलन गरेकाले उनलाई बर्खास्त गरिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।
तर, भित्री कुरो अर्कै रहको बुझिएको छ । कैलालीको निर्वाचन क्षेत्र नम्बर २, मुख्यमन्त्री र बर्खास्त भएका मन्त्रीको एउटै क्षेत्र हो । मुख्यमन्त्री शाह सोही निर्वाचन क्षेत्रका २ (क) का प्रदेश सांसद हुने भने चौधरी प्रदेश सभा (ख) का सांसद हुन् ।
एउटै निर्वाचन क्षेत्रका सांसदले आफ्नो निर्वाचन क्षेत्रबाट पहाडी जिल्लामा योजना बिक्री गरेको आरोप रामेश्वरमाथि लागेको छ । प्रदेश सभाका दुईटै निर्वाचन क्षेत्रमा मुख्यमन्त्री शाहले बजेट विनियोजन गरे पनि सांसद चौधरीले पहाडका जिल्लामा योजना बिक्री गरेको आरोप लाग्दै आएको छ ।
मुख्यमन्त्री शाहको क्षेत्र लम्कीदेखि बलिया र जानकीदेखि महोन्यालसम्म पर्छ । चौधरीको क्षेत्रमा कोटातुल्सीपर, गुलरादेखि महोन्यालको केही वडा पर्छ । तर मुख्यमन्त्री शाहले चौधरीको क्षेत्रमा उल्लेख्य बजेट विनियोजन आफैंले गरेको बताउने गरेका छन् । शाहले चौधरीले जम्मै अर्को जिल्लामा सेटिङ गरेर १० प्रतिशत असुलेको आरोप लगाएका छन् । मुख्यमन्त्रीले उनीमाथि निर्वाचन क्षेत्रभन्दा बाहिर योजना पुर्याएको अर्को आरोप पनि लगाएका छन् ।
मुख्यमन्त्री निकट स्रोत अनुसार बजेटको तर्जुमा गर्ने शाह, कमिसन उठाएर अर्कै जिल्लामा योजना हाल्ने चौधरी भएपछि घटनाले नयाँ रुप लिएको हो । यो काममा रामेश्वरका स्वकीयसचिव नवीन थापाको खेलोफड्को धेरै रहेको बताइन्छ ।
शाहले यसअघि रेशम चौधरीलाई विश्वासमा लिएर सरकार गठन गरेका थिए । तर पछिल्लो अवस्थामा शाहले चौधरीलाई २०८४ को प्रतिस्पर्धी ठानेर नयाँ राजनीति गरेको नागरिक उन्मुक्तिको दाबी छ । शाहले २०८४ को निर्वाचनमा प्रतिनिधि सभाको उम्मेदवामा चुनाव लड्न चाहेकाले रामेश्वरको बरखास्तीलाई हतियार बनाइएको उक्त उन्मुक्तिका नेताहरु बताउँछन् ।
मन्त्रीको बरखास्तीपछि शाह र चौधरीबीच २०८४ को प्रतिनिधि सभा निर्वाचनमा प्रतिस्पर्धा हुने आकलन गर्न थालिएको छ ।
टिप्पणीहरू