सांसद सुवालको कटाक्ष : सिंहदरबार पनि विदेशीलाई चलाउन दिने ?

सांसद सुवालको कटाक्ष : सिंहदरबार पनि विदेशीलाई चलाउन दिने ?

वायुसेवालाई निजीकरण गर्न बाटो खुला गर्नेगरी कानुन बनाउन लागिएको भन्दै नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले आपत्ति जनाएका छन् । वायुसेवालाई व्यवस्थापन करार वा शेयर निस्काषन वा विक्री नगर्ने प्रस्ताव विधेयकमा ल्याउन  उनले मागसमेत गरे ।

प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा आज 'नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१' माथि संशोधनकर्तासँग भएको छलफलमा भाग लिँदै सुवालले निजीकरणको विपक्षमा मत राखेका हुन् । सबै कुरा निजीकरण गर्दै जाँदा भविष्यमा सिंहदरबार पनि कुनै विदेशीलाई सञ्चालन गर्ने दिने अवस्था आउने भन्दै उनले कटाक्ष गरे । 

‘वायुसेवालाई व्यवस्थापन करार वा शेयर निस्काषन वा विक्री गरिने छैन भनेर यो प्रस्तावनामा ल्याउनुपर्छ । त्यो ल्याएन भने निजीकरणको लागि बाटो खुला गरिएको छ, विभिन्न दफामा’, सांसद सुवालले भने, ‘अब सबै चिज निजीकरण गर्ने भए भोलि सिंहदरबार पनि कुनै विदेशीलाई सञ्चालन गर्न दिनुपर्ने दिन आउनेछ ।’

सरकारले केही गर्न नसक्ने अनि एउटा व्यक्तिको कम्पनीले देश चलाउनेझैँ विधेयकमा व्यवस्था गरिएको उनको गुनासो छ । ‘सरकारले केही गर्न नसक्ने अनि एउटा व्यक्तिको कम्पनीले देश चलाउने भन्ने जुन यो विधेयकको उद्देश्य राखिएको छ । त्यो ठिक भएन । त्यसमा सचेत हुनुपर्छ’, सुवालले भने ।

टिप्पणीहरू