मन्त्रीले खुलाए एअरपोर्टमा लगेज ढिला आउनुको कारण

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा लगेज ढिला आउनुको कारण खुलाएका छन् । विमानस्थल सानो भएकाले यात्रु चाँडै आइपुग्ने तर लगेजको लागि समय लाग्ने अवस्था रहेको उनले बताएका हुन् । 

विमानस्थलको क्षेत्र साँघुरो हुँदा यात्रुहरु छिटै टर्मिनल भवनमा आइपुग्ने र लगेज ल्याउन धेरै समय लागेको जस्तो देखिने गरेको मन्त्रीले स्पष्ट पारे । ठूला एयरपोर्ट भएका देशमा जहाजबाट उत्रिएर आउन नै निकै समय लाग्ने तर नेपालमा एकैछिनमा आइपुग्ने अवस्था रहेको उनले बताए । 

‘हाम्रो एयरपोर्ट, हाम्रो टर्मिनल सबै साँघुरो अवस्थामा छ । नजिक नजिक छ । अरु देशका र हाम्रो के फरक होला भनेर हेरेको अरु देशमा एउटा मान्छे एउटा प्लेनबाट उत्रिएर लगेज लिने ठाउँसम्म आइपुग्न नै निकै समय लाग्छ । हाम्रो जोडिएको छ नजिकै छ, मान्छे तुरुन्तै आइपुग्छ’, मन्त्री पाण्डेले भने । 

त्रिभूवन विमानस्थलको क्षमता ४५ लाख भए पनि यस वर्ष दोब्बर भन्दा बढी ९५ लाख यात्रु ओहोरदोहोर गरिसकेको उनले जानकारी दिए । त्यसका बाबजुत पनि छरितो र प्रभावकारी बनाउने कुरामा सरकार गम्भीर रहेको उनले बताए ।

मन्त्री पाण्डेले मानसरोवर जाने पर्यटकहरुका लागि चिनियाँ दूतातावासले भेरिफिकेसन गर्ने भनेर पूर्वसूचना बिनै नयाँ नियम ल्याइएका कारण समस्या आएको उल्लेख गरे । दूतावाससँग यसबारेमा सरकारले कुरा गरेको जानकारी दिए ।
 

टिप्पणीहरू