प्रधानमन्त्री नबोलेकोमा भीम रावलको यस्तो खुलासा
नेकपा एमालेबाट निकालिएपछि आफ्नै नेतृत्वमा ‘भातृभूमि जागरण अभियान’ चलाइरहेका डा. भीमबहादुर रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणलाई ‘व्यक्तिगत लडहको असफल कूटनीति’ भनेका छन् ।
विदेश भ्रमणबाट फर्केपछि त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गरी भ्रमणबारे जानकारी गराउने परम्परा प्रम ओलीले तोडेको सन्दर्भमा रावलले सामाजिक सञ्जालमार्फत् यस्तो टिप्पणी गरेका हुन् । संयुक्त राष्ट्रसंघको ‘विकासका लागि वित्त’ कार्यक्रमका लागि ओली उपयुक्त पात्र नै नरहेको उनको भनाइ छ ।
‘सधैंको भन्दा फरक किसिमले भ्रमणबारे केही नभनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट किन बाहिरिनुभयो भन्ने कौतुहलता लागेकोले उक्त सम्मेलनमा छलफलका विषय कस्ता थिए र त्यसमा के-कस्ता संस्था र व्यक्तिहरुको सहभागिता थियो भन्नेबारे अध्ययन गरियो’, रावलले लेखेका छन्, ‘उक्त सम्मेलनमा अर्थ र वित्तसम्बन्धी विषय विज्ञले मात्र सार्थक रुपमा सहभागी हुनसक्ने रहेछ । त्यसैकारण भारत, चीन, पाकिस्तान र भुटानबाट अर्थमन्त्रीहरु, श्रीलंकाबाट राष्ट्रपतिका अर्थ र वित्त सल्लाहकार, वरिष्ठ अतिरिक्त सचिव, मालदिम्भसबाट अर्थविज्ञ उपराष्ट्रपति, बंगलादेशबाट अर्थमन्त्रालयसंग सम्बद्ध अधिकारीहरु सहभागी भएका रहेछन् ।’
चौथो अन्तराष्ट्रिय सम्मेलनले पारित गरेको ४२ पृष्ठ लामो कार्यपत्रको अध्ययन गर्दा प्रधानमन्त्री ओली त्यहाँ हुनुको कुनै औचित्य र महत्व नदेखिएको रावलले प्रष्ट्याए । विमानस्थलमा प्रधानमन्त्री ओली केही नबोली निस्कनुको कारण खुलाउँदै उनले भनेका छन्, ‘आयोजक देशका राजा र प्रधानमन्त्री तथा संयुक्त राष्ट्र संघका महासचिवसँग कार्यसूचिविहिन भेटघाटले देशको लागि तथा कूटनीतिक दृष्टिले कुनै अर्थ नराख्ने स्पष्टै छ, यही भएर स्वदेश फिर्तिका अवसरमा विमानस्थलमा प्रधानमन्त्रीको मुख बन्द भएको रहेछ ।’
अन्तराष्ट्रिय मञ्चमा समेत ‘झोले’ प्रधानमन्त्री ओलीले ‘विद्या भण्डारीलाई आफूविरुद्ध उचालेको’ भन्दै अभिव्यक्ति दिएर पार्टीको अन्तरविरोध झन् बढाएको पनि रावलको भनाई छ ।
‘नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई आफ्नो कार्यकाल सकिनुअघि नै प्रधानमन्त्रीको पद हस्तान्तरण गर्छु’ भन्ने ओलीको भनाइ लक्षित रावलको सुझाव छ, ‘यस्ता कुरा जोसुकैका बीच गरिए पनि प्रधानमन्त्री तथा ठूलो दलका अध्यक्षका लागि शोभनीय होइन र देशको मर्यादा र स्वाभिमान अनुकूल पनि ठहरिन्न ।’
टिप्पणीहरू