प्रत्यक्ष जननिर्वाचित कार्यकारी राष्ट्रपतिका लागि अभियान

प्रत्यक्ष जननिर्वाचित कार्यकारी राष्ट्रपतिका लागि अभियान

कम्युनिष्ट समाजवादी पार्टी, नेपालले ‘प्रत्यक्ष जननिर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली’ को पक्षमा अभियान चलाउने भएको छ । ‘अबको विकल्प समाजवादी गणतन्त्र एवम् प्रत्यक्ष जननिर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली’ भन्ने मान्यतालाई जनतामा स्थापित गराउने उद्देश्यका साथ अभियान चलाउन थालिएको जानकारी दिइएको छ ।

पार्टीले मुलुकलाई वर्तमान दलाल संसदीय व्यवस्थाबाट मुक्त गरी स्वाधीन, समृद्ध र कानूनी राज्यको स्थापनाका लागि प्रत्यक्ष जननिर्वाचित राष्ट्रपति प्रणालीको निम्ति सशक्त गतिविधि अघि बढाउने जनाएको छ । साथै, गाँस, बास, कपास र रोजगारीको सुनिश्चितता एवम् शिक्षा र स्वास्थ्यलाई पूर्ण रुपमा राष्ट्रियकरण, निःशुल्क र सर्वसुलभ गराउन संघर्ष सञ्चालन गर्ने पनि जारी विज्ञप्तिमा उल्लेख छ । 

‘पार्टीको आयोजनामा राष्ट्रियता, जनतन्त्र र जनजीविका तथा विदेशी हस्तक्षेपविरुद्ध संघर्ष सञ्चालन गरिनेछ,’ विज्ञप्तिमा लेखिएको छ, ‘जनताका जीवनसँग सम्बन्धित महंगी, भ्रष्टाचार, बेथिति, विकृति र विसंगतिलगायतका हरेक प्रकारका समस्याविरुद्घ संघर्ष सञ्चालन गरिनेछ ।’ पार्टीको विचारमा सहमत हुने समूह, व्यक्तिलाई ध्रुवीकृत तथा एकताका लागि पहल गरिने जनाइएको छ ।

टिप्पणीहरू