सानेपामा दिनहुँ असन्तुष्टी पोखिँदै
सत्तारुढ दल नेपाली काँग्रेसको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले बनाएको ‘हँसिया’देखि दुई चरणमा महाधिवेशन गर्नुपर्नेसम्म चर्चा चलेको छ । सानेपास्थित पार्टी मुख्यालयमा जारी केन्द्रीय समिति बैठकमा नेताहरुले सभापति देउवाको नेतृत्वमाथि प्रश्न उठाउँदै आगामी महाधिवेशनको सम्भावित परिदृश्यबारे चर्चा गरेका हुन् ।
नेता चन्द्र भण्डारीले आजसम्म सभापति देउवाले ‘हँसिया’ धेरै बनाए पनि घाँस काट्न नजानेको भन्दै कटाक्ष गरे । ‘सभापतिज्यूले यति धेरै हँसिया बनाउनुभयो कि, तर आजसम्म घाँस काट्न सक्नुभएन’, अगाडि भने, ‘घाँस खान नपाएर गाई र भैँसी भोको भएजस्तै छ अहिले नेपाली काँग्रेसको समस्या ।’
नेकपा (एमाले)सँगको गठबन्धनको कारण काँग्रेसप्रति पनि जनताको असन्तुष्टी र आक्रोश बढिरहेको उनको दाबी छ । ‘काम गरे पो जनता खुशी हुन्छन् त, पद लिने, काम नगर्ने, सायद हामीले सही व्यक्तिलाई सही जिम्मेवारी दिन सकेनौँ, यसको जिम्मेवारी सभापतिले लिनुपर्छ कि पर्दैन ?’, उनले सोधे ।
त्यस्तै पूर्वमन्त्री डा. मिनेन्द्र रिजालले पार्टीको विधान संशोधन गरेर दुई चरणमा महाधिवेशन गर्नुपर्ने बताए । पार्टीभित्र मौलाउँदै गएको गुटबन्दीलाई अन्त्य गर्ने यही नै अन्तिम उपाय भएको उनको भनाई छ । ‘पहिलो चरणमा महाधिवेशन प्रतिनिधिका लागि मात्र निर्वाचन गरौँ, त्यसपछि बल्ल प्रतिनिधिबाट सभापति छानौँ’, उनले भने, ‘यो नगर्ने हो भने हामीले आगामी निर्वाचनसम्म झगडा गर्दा गर्दा पार्टीलाई नै नाश गरिसक्छौँ ।’
नेता एनपी साउदले पनि एमालेसँग सहकार्य गर्दा फाइदा हुनुपर्नेमा उल्टै घाटा भएको निश्कर्ष निकालेका छन् । उनले एमालेप्रतिको आक्रोश काँग्रेसमा पनि सरिरहेको बताए । ‘नागरिकमा असन्तुष्टी नबढोस् पनि कसरी, हामी त गठबन्धनको नाममा मतियार बनेका छौँ’, उनले सुनाए ।
टिप्पणीहरू