अदालतको आदेशपछि पदाधिकारीहरुलाई विश्वविद्यालय प्रवेशमा रोक

अदालतको आदेशपछि पदाधिकारीहरुलाई विश्वविद्यालय प्रवेशमा रोक

नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसहित पदाधिकारीहरुलाई विश्वविद्यालयहाता प्रवेशमा निषेध गरेको छ ।

त्रिविका प्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापकका लागि खुलेको विज्ञापनप्रति आपत्ति जनाउँदै यसअघि विश्वविद्यालयमा तालाबन्दी गरेको क्रान्तिकारले अदालतको आदेशपछि आज ताल्चा खोलेको छ । तर आफ्ना माग पूरा नभएसम्म पदाधिकारीहरुलाई विश्वविद्यालय छिर्न नदिने अडानमा देखिन्छ ।

त्रिवि अखिल क्रान्तिकारी समितिका कार्यवाहक अध्यक्ष शिवराज भट्टले विश्वविद्यालयमा अनुसन्धान र कृति प्रकाशनका नाममा नक्कली गिरोहका प्राध्यापक डाक्टरहरुको प्रवेश हुनबाट बचाउन संगठन जस्तोसुकै मूल्य चुकाउन पनि पछि नहट्ने अडान व्यक्त गरेका छन् । ‘हाम्रो संगठन अखिल (क्रान्तिकारी) त्रिभुवन विश्वविद्यालय समितिले उठाएको मागहरु पूरा नभएसम्मको लागि त्रिभुवन विश्वविद्यालयका पदाधिकारी उपकुलपति, शिक्षाध्यक्ष, रजिष्ट्रार र त्रिवि सेवा आयोगका पदाधिकारीहरुलाई विश्वविद्यालयको हाताभित्र प्रवेश निषेध गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘साथै, विश्वविद्यालयमा अनुसन्धान र कृति प्रकाशनका नाममा नक्कली गिरोहका प्राडाहरुको प्रवेश हुनबाट बचाउनका लागि हाम्रो संगठन जस्तोसुकै मूल्य चुकाउन पनि पटि नपर्ने संकल्प गर्दछौं ।’

खुला प्रतिस्पर्धा नगराई केबल अनुसन्धान र कृति प्रकाशनलाई मात्र मूल्याङ्कनको आधार बनाएर प्राध्यापक नियुक्त गर्न खोजिएको क्रान्तिकारीको आरोप छ । उक्त विज्ञापन स्थगितको माग गर्दै यसअघि संगठनले विश्वविद्यालयमा ताल्चा लगाएको थियो । 

तर, विश्वविद्यालय प्रशासनले सोविरुद्ध सर्वोच्च अदालतमा रिट हालेपछि ताल्चा खोल्न अन्तरिम आदेश भएको हो । अदालतको आदेशबमोजिम क्रान्तिकारीले विश्वविद्यालयमा लगाएको ताल्चा खोलेको जनाए पनि पदाधिकारीहरुलाई विश्वविद्यालय परिसरभित्र प्रवेश गर्न नदिने अडान लिएको छ ।

टिप्पणीहरू