स्वीस मन्त्री भेटेर प्रधानमन्त्री संसदतिर
प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ । दिउँसो १ बजे गतसाता सम्पन्न स्पेन भ्रमणबारे संसदलाई जानकारी गराउन लागिएको छ ।
त्यसअघि उहाँले बालुवाटारमा स्विट्जरल्याण्डका विदेशमन्त्री इग्नाजिओ कासिससँग भेटवार्ता गर्ने कार्यक्रम छ । साढे १२ बजे स्वीस प्रतिनिधिमण्डलसँगको भेटघाटपछि प्रधानमन्त्री संसद भवन जानुहुने छ । आज बेलुकी ६ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा क्याबिनेट बैठक राखिएको छ ।
त्यसअघि दिउँसो एमाले पर्यटन विभागले गौशालास्थित एक होटलमा राखेको नेपालमा पर्यटनको अवस्था र चुनौती तथा सम्भावनासम्बन्धी गोष्ठीलाई पनि प्रधानमन्त्रीले सम्बोधन गर्नुहुने छ ।
गएराति सवा ११ बजे काठमाडौं आएका स्वीस विदेशमन्त्री आज दिनभर काठमाडौंमा व्यस्त भएपछि भोलि बिहान सवा ९ बजे भुटान जाने कार्यक्रम छ । स्वीस वायुसेवाको विशेष विमान, चार्टर्ड उडान नम्बर एसयु १००५ मा आएको स्वीस प्रतिनिधिमण्डल आज बिहान ललितपुरको जावलाखेलस्थित स्वीस राजदूतावास पुगेको छ ।
साढे १२ बजे प्रधानमन्त्री ओलीलाई भेटेर स्वीस विदेशमन्त्रीको टोली याक एण्ड यति होटल, ३ बजे थापाथलीस्थित ट्रेड टावरमा रहेको सिजी नेट अफिस, ४ बजे पाटन दरबार स्क्वायर घुमी राति बबरमहलस्थित होटल भिलासमा फर्कने बुझिएको छ ।
टिप्पणीहरू