काँग्रेसले अबदेखि बैठक लाइभ गर्ने

काँग्रेसले अबदेखि बैठक लाइभ गर्ने

सत्तारुढ नेपाली काँग्रेसले अर्को पटकदेखि केन्द्रीय कार्यसमिति बैठकको लाइभ गर्ने भएको छ । 

हिजो सानेपास्थित पार्टी मुख्यालयमा केन्द्रीय समिति बैठकको समापन समारोहलाई सम्बोधन गर्दै सभापति शेरबहादुर देउवाले आगामी दिनमा बैठकको प्रत्यक्ष प्रशारण गर्ने घोषणा गर्नुभएको हो । काँग्रेसले यसअघि बैठकको लाइभ गरेकोमा यसपटक रोकिएकोमा नेताहरुले प्रश्न उठाएका थिए। 

त्यसको जवाफ दिँदै देउवाले आगामी दिनमा बस्ने बैठकको सबै प्रत्यक्ष प्रशारण हुने बाचा गर्नुभयो । यद्यपि बैठकमा नेताहरुले बोलेका कुरा बाहिर सञ्चारकर्मीलाई जस्ताको त्यस्तै भन्ने गरेकाले लाइभ गर्नु र नगर्नुको खासै अर्थ नरहने उहाँको भनाइ छ । 

‘यसको प्रत्यक्ष प्रशारण गर्न पाएको भए राम्रो हुने रहेछ, यहाँ भएका सबै कुराहरु बाहिर गएर नेताहरु बोलिहाल्ने रहेछन् । अबदेखि प्रत्यक्ष प्रशारणको समझदारी लागू गर्ने हो’, देउवाले भन्नुभयो, ‘सबै साथीहरुलाई बोल्ने इच्छा छ, राम्रो बोल्छन् सबै । सबैलाई लाइभमै बोल्ने इच्छा पनि छ ।’

सभापति देउवाले मिडियामा आफ्ना भनाइहरु लैजाने चाहना सबै नेताहरुलाई रहेकाले आगामी दिनमा प्रत्यक्ष प्रशारण हुने बताउनुभयो ।
 

टिप्पणीहरू