भोटेकोशीको बाढी बेनीघाट पुग्ने खतरा, सतर्क रहन आग्रह
नारायणी नदी जलाधार अन्तर्गतको त्रिशूली उपजलाधारमा पर्ने भोटेकोशी नदीमा आज बिहान तिब्बत क्षेत्रबाट आएको ठूलो बाढी प्रवेश गरेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । जल तथा मौसम विज्ञान विभागले सतर्क गराएको हो ।
विभागका अनुसार रसुवा–स्याफ्रुवेसीस्थित भोटेकोशी जलमापन केन्द्रमा आज बिहान साढे ३ बजे बाढी आइपुगेको थियो । त्यसपछि त्रिशूली नदी हुँदै बिहान ५ बजे नुवाकोट र रसुवाको सीमाना बेत्रावतीसम्म पुगेको जनाइएको छ ।
बेत्रावती केन्द्रमा जलस्तर करिब २.५ मिटरले वृद्धि भएको र पछिल्लो समय केही घट्दो क्रममा रहेको विभागले जानकारी दिएको छ । प्रारम्भिक रुपमा बाढीको प्रभाव त्रिशुली नदीको बुढीगण्डकी दोभान (वेनिघाट) आसपाससम्म पर्ने देखिएकोले आज दिनभर सतर्कता अपनाउन भनेको छ ।
बाढी पूर्वानुमान शाखाले यस घटनाको अनुगमन गरिरहेको र सम्भावित कारणको अध्ययन शुरु गरेको जनाइएको छ । चीनमा परेको अविरल वर्षाका कारण आज बिहान भोटेकोशी खोलामा आएको बाढीले रसुवा र नुवाकोटमा ठूलो क्षेती पुगेको छ ।
रसुवागढी-केरुङ जोड्ने मितेरी पुल बगाउनुका साथै भन्सार पासका लागि सुख्खा बन्दरगाहमा रहेका सवारी साधन डुबेका छन् । बाढीमा तीन प्रहरीसहित १५ जना अहिलेसम्म बेपत्ता छन् ।
रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार बाढीले रसुवागढी जलविद्युत आयोजनाको बाहिरी संरचनामा ठूलो क्षति पुर्याएको छ । टिमुरेमा निर्माणाधीन सुख्खा बन्दरगाहमा पनि क्षतिग्रस्त भएको छ । रसुवागढीबाट स्याफ्रुवेसी आउने बाटो अवरुद्ध हुँदा खोज तथा उद्धारमा कठिनाइ भएको छ ।
टिप्पणीहरू