बाढी आयो,बेनीघाटमा जलाइरहेको शव बगायो

बाढी आयो,बेनीघाटमा जलाइरहेको शव बगायो

त्रिशुली नदीको उपल्लो भू–भाग नुवाकोटतर्फबाट आएको बाढीले पानीको बहाव बढेसँगै धादिङको छुट्टाछुट्टै स्थानमा दुई जनाको शव भेटिएको छ ।  

गजुरी गाउँपालिका–६ बेल्खुमा एक जना र गल्छी गाउँपालिका–२ केउरेनीनमा एक जना गरी दुई जना पुरुषको शव भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङका नायव उपरीक्षक सुवास हमालले जानकारी दिए । 

छिमेकी देश चीन र नेपालको सिमानाबाट सम्पर्कविहिन बनेका नागरिकको शव हुन सक्ने अनुमान गरिएको छ । बिहानैदेखि त्रिशुली नदीमा बहाव अत्यधिक बढेको छ ।धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ स्थित त्रिशुली नदी किनारमा जलाउँदै गरेको एउटा शव पनि नदीले बगाएको छ । 

शवदाहको बेला अकस्मात आएको बाढीले चितासहित शव बगाएको वडा अध्यक्ष कुमार बस्नेतले जानकारी दिनुभयो । बस्नेतका अनुसार जलाउँदै गर्दा बगाएको बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर थपलियाका आफन्त रहेको बुझिएको छ । 

जिल्ला प्रशासन कार्यालय धादिङ,नुवाकोट र रसुवाले संयुक्त रूपमा जारी गरेको सूचनामा असार २३ गते राति भारी वर्षासँगै त्रिशुली नदीको शीर क्षेत्रमा पानीको बहाव उच्च हुँदै गएकोले नदी किनारका बासिन्दालाई विशेष सतर्कता अपनाउन अनुरोध गरिएको छ । सम्भावित बाढी,पहिरो वा अन्य प्राकृतिक विपद्का घटनामा नजिकैको सुरक्षा निकायलाई तुरुन्तै जानकारी गराउन पनि अनुरोध गरिएको छ ।

टिप्पणीहरू