प्रधानमन्त्रीसँग देउवाको भेटबारे अनेक चर्चा
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । दुवै पार्टीका दोस्रो तहका नेतासहित प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल चलिरहेको छ ।
प्रधानमन्त्री भेट्न पार्टी उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री रमेश लेखकलाई लिएर देउवा बालुवाटार पुग्नुभएको हो । छलफलमा एमालेको तर्फबाट महासचिव शंकर पोखरेल र उपमहासचिवसमेत रहेका प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाललगायत सहभागी छन् ।
सरकार गठनको एक वर्ष पुगेपछि क्याबिनेट पुनर्गठन गर्ने चर्चा चलिरहेका बेला पार्टीको केन्द्रीय कार्यसमिति बैठक सकिएको भोलिपल्ट देउवा बालुवाटार पुग्नुलाई चासोका साथ हेरिएको छ । काँग्रेस बैठकले एमालेसँगको सहकार्यलाई निरन्तरता दिनुपर्ने तर सरकारको काम चित्तबुझ्दो नभएको निष्कर्ष निकालेको छ ।
बालुवाटार स्रोतले भने समसामयिक राजनीति, बाढीपहिरो र डुबानबाट भएको क्षति तथा उद्धारका विषयमा छलफल भएको बताएको छ ।
टिप्पणीहरू