कास्कीका ग्रामीण सडकमा गाडी चलाउन समय तालिका

कास्कीका ग्रामीण सडकमा गाडी चलाउन समय तालिका

जिल्ला प्रशासन कार्यालय, कास्कीले ग्रामीण सडकमा सवारी साधन सञ्चालनका लागि समय निर्धारण गरेको छ । निरन्तर वर्षाका कारण बाढी र पहिरोको जोखिम बढेपछि कार्यालयले गाडी चलाउन समय तोकेको हो । 

जसअनुसार विरेठाँटीदेखि घान्द्रुक, उल्लेरी र लुम्लेदेखि लान्द्रुक जाने सवारी साधनहरु साँझ ५ बजेभित्र प्रस्थान बिन्दुबाट गन्तव्यस्थलका लागि छुटिसक्नुपर्नेछ । त्यसैगरी, घान्द्रुकदेखि विरेठाँटी, उल्लेरीदेखि विरेठाँटी र लान्द्रुकदेखि लुम्ले जाने सवारी साधन बिहान ५ बजेपछि प्रस्थान बिन्दुबाट गन्तव्यका लागि छुट्ने छ ।

काँहुखोलादेखि ताङ्तिङ जाने सवारी साधनहरु साँझ साढे ४ बजेभित्र गन्तव्यस्थलका लागि निस्किनुपर्ने कार्यालयले जनाएको छ । ताङ्तिङदेखि काँहुखोला जाने सवारी साधनहरु बिहान ५ बजेपछि प्रस्थान बिन्दुबाट गन्तव्य स्थलका लागि छुट्न पाउने कार्यालयको भनाइ छ । 

वर्षातको समयमा सुरक्षा संयमता अपनाउन र बाढी, पहिरोको कारण यात्रु तथा सवारी साधनहरुमा हुनसक्ने सम्भाव्य क्षति न्यूनिकरण गर्न सो निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले बताए । उनका अनुसार आजबाट आगामी १५ दिनसम्म सोही समय तालिकाअनुसार सवारी साधन सञ्चालन गर्नुपर्नेछ ।

टिप्पणीहरू