तीज नआउँदै छाडा गीतको बिगबिगी

तीज नआउँदै छाडा गीतको बिगबिगी

राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले दुई गीतमाथि प्रतिबन्ध लगाएको छ । तीज पर्वको नाममा जथाभावी समाजमा विकृति फैलाउने गीत बजारमा ल्याएको भन्दै त्यसको प्रशारण तथा प्रकाशनमा रोक लगाइएको हो । 

ध्रुव पुन र चन्द्रकुमारी शाहीको स्वर रहेको ‘गाई कालो’ र राजकुमाल वली, अस्मिता थापा र लक्ष्मी थापाले गाएको ‘सल्ला दमारमा’ बोलको गीतमाथि प्रतिबन्ध लगाइएको छ । यस्ता गीत तथा भिडियो निर्माण, प्रकाशन गर्नेहरुलाई आवश्यक कारबाहीका निम्ति सूचना तथा सञ्चार मन्त्रालय, नेपाल प्रहरी, साइबर ब्यूरो, कलाकार संगठनलगायत सम्बद्ध निकायमा पत्र लेखिने सञ्चारकर्मीले जनाएको छ । 

लोक सञ्चारकर्मीले तीज पर्वको नाममा विकृति, अश्लीलता, अपशब्द र सामाजिक मर्यादाविपरीत सामग्री समावेश भएका गीतलाई पत्रपत्रिका, रेडियो, टेलिभिजन, युट्युब तथा सामाजिक सञ्जाललगायत कुनै पनि माध्यमबाट प्रकाशन, प्रशारण नगरिदिन पनि अनुरोध गरेको छ । 

तीजजस्तो नारी सशक्तिकरण, धार्मिक आस्था, सामाजिक एकता र सांस्कृतिक सम्मानको पर्वलाई केही स्वार्थलोलुप कलाकार, युट्युबर तथा व्यवसायिक उत्पादन घरानाले केबल व्यापारिक लाभको माध्यम बनाई छाडा गीत–संगीत उत्पादन र प्रशारण गर्नु अत्यन्त निन्दनीय रहेको विज्ञप्तिमा उल्लेख छ ।

टिप्पणीहरू