खादा, माला र विशेष पहिरनमा सेटिङको आशंका

खादा, माला र विशेष पहिरनमा सेटिङको आशंका

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खादा, माला र विशेष संकेत झल्कने पहिरन तथा सामग्री प्रयोगमा रोक लगाइएको छ । विमानस्थल अध्यागमन कार्यालयले अध्यागमन संवेदनशील र सुरक्षात्मक क्षेत्र भएकाले त्यस्ता वस्तु तथा पहिरन निषेध गरिएको जनाएको छ ।

अबदेखि अध्यागमन क्षेत्रभित्र कुनै पनि प्रकारको अनावश्यक, अस्वाभाविक गतिविधि, पहिरन तथा पहिचान, खास संकेत खुल्ने आभूषण, खादा, माला, चस्मा, फरक किसिमको टोपी प्रयोग गर्न नपाइने सूचना जारी गरिएको छ ।

‘अध्यागमन क्षेत्र, डेस्क वा काउण्टरमा रहँदा वा अध्यागमन प्रक्रियामा सहभागी हुँदा कुनै पनि प्रकारको खादा, माला वा यस्तै अन्य सजावटी वस्तुहरुको प्रयोग नगर्नुहोला,’ सूचनामा भनिएको छ, ‘यी वस्तुहरुको प्रयोगमार्फत अध्यागमन प्रशासनको कार्यमा हुनसक्ने सम्भावित जोखिम एवं अनावश्यक ढिलाई गराउनसक्ने भएकाले यस्तो वस्तुहरुको प्रयोग निषेध गरिएको छ ।’

यस्तै, कुनै विशेष समूह, संगठन वा ट्राभल एजेन्सी, म्यानपावर कम्पनीको परिचय, आबद्धता झल्काउने किसिमका पहिरन, टोपी, ब्याच वा अन्य कुनै पनि पहिचानजन्य वस्तु पनि अध्यागमन क्षेत्रभित्र प्रयोग गर्न नपाइने भएको छ । 

‘यसले कुनै पनि यात्रुलाई विशेष व्यवहार गरिएको भान पर्नसक्ने वा सुरक्षा संवेदनशीलतामा प्रश्न उठ्नसक्ने भएकाले सबैलाई समान व्यवहार सुनिश्चित गर्ने प्रयोजनार्थ यो नियम लागू गरिएको हो,’ कार्यालयले भनेको छ ।

टिप्पणीहरू