एमालेको अध्यक्ष बन्ने विद्या भण्डारीको प्रश्टोक्ति

एमालेको अध्यक्ष बन्ने विद्या भण्डारीको प्रश्टोक्ति
सुन्नुहोस्

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको नेतृत्व लिन आफू सक्रिय राजनीतिमा फर्किएको स्पष्ट पार्नुभएको छ । 

असार १४ गते राष्ट्रिय सभा गृहमा आयोजित मदन भण्डारीको ७४औँ जन्मजयन्ती समारोहमा पार्टी सदस्यता नविकरण गरिसकेको जानकारी दिनुभएकी उहाँले हिजो एक राष्ट्रिय टेलिभिजनलाई अन्तर्वार्ता दिँदै नेतृत्वको लागि प्रतिस्पर्धा गर्न तयार रहेको बताउनुभएको हो । 
 
भण्डारीले भदौमा हुने पार्टीको विधान महाधिवेशनपश्चात राष्ट्रिय महाधिवेशनको मिति तय हुने र कार्यकर्ताको भावनाअनुरुप रणनीति बनाउने पनि बताउनुभयो । ‘अध्यक्ष बनेर पार्टी हाँक्न एमालेमा फर्किनुभएको हो ?’ भनेर सोधिएको प्रश्नमा उहाँले भन्नुभयो, ‘तपाईले भनेको कुरामा सत्यता छ, तर (११औँ) महाधिवेशन तोकिएको छैन, त्यसैले अहिले नै कुन पदमा भनेर नभनौँ, त्यो पछि थाहा भइहाल्छ।’ 

‘तपाई पुनः एमालेमा फर्किने भनेको पार्टीलाई नेतृत्व दिनकै लागि त होला नि !’ भनेर साेधिएकाे अर्काे प्रश्नमा उहाँले गम्भीर हुँदै जवाफ दिनुभयो, ‘एकदम,  त्यसमा कुनै सन्देह छ र !’ 

प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्व हस्तान्तरण गर्न उहाँले सन्देश दिनुभएको छ । ‘उहाँ (ओली) एउटै कक्षामा दोहोर्याएर जाँच दिन्न भन्ने खालको व्यक्ति हो, मलाई लाग्छ अरु नेताहरुले भन्दैमा उहाँ दोहोर्याउने, तेहेर्याउने गर्नुहुन्न, मैले चिनेको केपी ओली त्यस्तो होइन’, पूर्व राष्ट्रपतिको भनाइ छ । 

अध्यक्ष ओलीलाई पार्टी नेतृत्व छाड्ने चाहना नभए प्रतिस्पर्धाको लागि तयार रहन पनि भण्डारीले घुमाउरो चुनौती दिनुभयो । ‘उहाँ (ओली) सहकर्मी हो, साथी हो, सहयोद्धा हो, तर लोकतान्त्रिक प्रक्रियामा सामेल भएपछि कहिलेकाहीँ समकालीन साथीहरुको बीचमा पनि प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ, सबैले यसलाई स्वभाविक रुपमा लिएर तयार हुनुपर्छ ।’
 

टिप्पणीहरू