वामदेवको अभियान माधवको एसमा मिसिने
वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान नेकपा एकीकृत समाजवादीमा मिसिने भएको छ । दुवैबीच आज पार्टी एकता गर्ने सहमति भएको हो ।
नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र गौतमले सम्झौता पत्रमा हस्ताक्षर गर्दै कम्युनिष्ट आन्दोलनलाई अगाडि लैजान एकजुट भएर अगाडि बढ्ने सहमति जनाएका छन् । आगामी साउन २ गते राष्ट्रिय सभा गृहमा भव्य समारोहको आयोजना गरेर एकताको घोषणा गर्ने जनाइएको छ ।
पत्रमा भनिएको छ,‘राजनीतिक दर्शन, सिद्धान्त, कार्यक्रम, रणनीति र कार्यदिशामा एकरुपता रहेको र नेपालको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्नुपर्ने आजको ऐतिहासिक आवश्यकतालाई ध्यानमा राख्दै नेकपा एकता राष्ट्रिय अभियान नेकपा (एकीकृत समाजवादी) मा एकताबद्ध हुने सहमति गरियो । साथै, २०८२ साउन २ गते राष्ट्रिय सभा गृहमा भव्य समारोहको आयोजना गरी एकताको घोषणा गर्ने सहमति भयो ।’
यसअघ दुई नेताबीच पार्टी एकताका लागि चरणवद्ध छलफल भएपनि सहमति जुटेको थिएन । त्यसबीच एमालेतिर जान मन बनाएका गौतमलाई केपी ओलीले वेवास्ता गरेपछि पुन: एससँग संवाद थालेका थिए ।
टिप्पणीहरू