कारवाहीको निर्णयले काँग्रेसमा कलह

कारवाहीको निर्णयले काँग्रेसमा कलह

चुनावमा अन्तर्घात गरेको आरोप लागेका शेखर कोइराला पक्षीय नेताहरू छानीछानी कारवाहीमा परेपछि कांग्रेसभित्रको गुटगत किचलो सतहमा आएको छ । 

केन्द्रीय अनुशासन समितिले पश्चिम नवलपरासीका नेता तथा लुम्बिनी प्रदेश महामन्त्री विक्रम खनाललाई १ वर्षका लागि निष्काशन गर्ने निर्णय गरेपछि विवाद चर्किएको हो । केन्द्रले खनाललाई कारवाही गरेसँगै जिल्ला समितिले नेता देवेन्द्रराज कँडेललाई कारबाही गरेको छ । खनाल कोइराला पक्षका हुन् भने कँडेल देउवा गुटका ।  

गत आम चुनावमा खनालले अन्तर्घात गरेको कँडेल र विनोद चौधरीले आरोप लगाएका थिए, र  अनुशासन समितिमा उजुरी परेको थियो । त्यसैका आधारमा समितिले निलम्बन सिफारिस गरेको थियो । 

अनुशासन समितिले बहुमतका आधारमा निर्णय गरेको र आफ्नो समूहलाई टार्गेट गरिएको भन्दै इतर खेमाले असन्तुष्टि जनाइरहेको छ । त्यसको काउन्टरस्वरूप देउवाका दाहिना हात कँडेललाई जिल्ला कमिटीले ५ वर्षका लागि पार्टीबाट निकालेको बताइएको छ । 

जिल्ला सभापति विक्रम यादवले अनुशासन समितिले यसअघि नै कँडेललाई कारवाही गर्ने निर्णय गरेकोमा हिजो बसेको कार्यसमितिको बैठकले अनुमोदन गरेको बताए । उनका अनुसार आज त्यहाँ खनालमाथिको कारवाहीविरुद्ध विरोध र्यालीसमेत निकालिएको छ । 

खनालमाथिको कारवाही तत्काल फिर्ता नभए सिर्जना हुने परिस्थितिको जिम्मेवारी केन्द्रीय समितिले लिनुपर्ने भन्दै जिल्लास्तरीय नेताहरुले चेतावनीसमेत दिएका छन् । 

०७९ को चुनावमा नवलपरासी क्षेत्र नम्बर १ मा चौधरीले जितेका थिए भने अर्को क्षेत्रमा कँडेल राप्रपाका उपाध्यक्ष ध्रुव प्रधानसँग पराजित भए ।

टिप्पणीहरू