प्रचण्डको आलोचना गर्दै बाबुरामले उठाए माओवादी पुननिर्माणको प्रश्न

प्रचण्डको आलोचना गर्दै बाबुरामले उठाए माओवादी पुननिर्माणको प्रश्न

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले माओवादी आन्दोलन सापेक्षित रुपमा सफल भए पनि त्यसले पूर्णता पाउन नसकेको टिप्पणी गरेका छन् । जनयुद्धको कार्यनीतिक एजेण्डा पूरा भएको तर रणनीतिक विषय अझै पूरा हुन बाँकी रहेको उनको भनाइ छ । 

१० वर्षे जनयुद्धको एक नेतृत्वकर्ता डा भट्टराईले सामाजिक सञ्जालमा लामो विश्लेषण सेयर गर्दै माओवादी पार्टी कमजोर हुँदै जानुका आधार र कारणहरू पनि औँल्याएका छन् । मूल नेतृत्व (प्रचण्ड) मा रहेको ढुलमुले नीतिले आन्दोलन कमजोर बनेको उनको दाबी छ ।   

‘पार्टीको नेतृत्व पंक्तिमा बेलैमा बुझाइमा एकरूपता कायम हुन सकेको भए अझै बढी उपलब्धि पनि हुन सक्दथ्यो, त्यो हुन नसक्दा कतिपय कुरा गुमेका छन्’, आफूसहित प्रचण्ड र बादलको फोटो सेयर गर्दै डा भट्टराईले लेखेका छन्, ‘राजनीतिक रूपले विजय हासिल गरे पनि फौजी रूपले पूर्ण विजय हासिल गर्न नसक्दा र आन्तरिक तथा बाह्य शक्ति सन्तुलन पनि हेर्नुपर्ने हुँदा शान्ति सम्झौतामार्फत प्राप्त सफलतालाई सापेक्ष रूपले सफल भन्नु सही र उपयुक्त हुन्छ ।’

शान्ति प्रक्रियापछि प्रचण्डको ढुलमुले र मौकापरस्त नीतिले माओवादी कमजोर बन्दै गएको उनको जिकिर छ । ०६४ साउनमा बालाजुमा सम्पन्न विस्तारित बैठक स्मरण गर्दै भनेका छन्, ‘प्रचण्डले प्रयोग गरेको र पार्टीभित्र जिब्रोमा गडेको (मुखमा संविधानसभाको निर्वाचन, मनमा सशस्त्र विद्रोह) दोधारे कुराले पार्टीमा तलसम्म गहीरो विभाजन ल्यायो, जनसमुदायमा समेत भ्रम छर्यो र पार्टीलाई पछिसम्म अपूरणीय क्षति पुर्यायो ।’

पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले ०६७ मंसिरमा गोरखाको पालुंगटारमा सम्पन्न विस्तारित बैठक पनि सम्झिएका छन् । त्यहाँ प्रचण्डले आफूसँग संविधान र किरण (मोहन वैद्य)सँग विद्रोहको कुरा गरेको उनले उल्लेख गरेका छन् ।

त्यसको एक महिनापछिको घटना स्मरण गर्दै थपेका छन्, ‘०६७ पुसमा काठमाण्डौमा भएको केन्द्रीय समितिको बैठकमा ‘किरणसँग एकता प्रधान, बाबुरामसँग संघर्ष प्रधान’ भन्ने प्रचण्डको अर्को चर्चित महावाणी आयो । तर, केही महिनापछि सिन्धुपाल्चोक सिकुटेमा भएको बैठकमा प्रचण्ड संविधान निर्माण गरेर अघि बढ्ने बाबुरामको लाइनमा आएपछि बल्ल संविधान निर्माणले बाटो समात्यो । त्यतिबेलासम्म परिस्थिति निकै प्रतिकुल बन्दै गैसकेको थियो ।’

भट्टराईले अन्य देशमा माओवादी आन्दोलन असफल भइरहेको सन्दर्भमा नेपालमा सफल हुनुकाे कारण पनि खुलाएका छन् । ‘हामीले कुनै पनि वादलाई यान्त्रिक जडसूत्रको रूपमा नलिएर एउटा मार्गदर्शक विज्ञानको रूपमा लियौं र आफ्नै देश र समाजको सापेक्षतामा सिर्जनात्मक ढंगले प्रयोग गर्यौं’, उनले अघि थपेका छन्, ‘मुख्य कुरा रणनीतिमा दृढ हुँदै कार्यनीतिमा लचिलो बन्यौं, क्रान्ति र शान्ति विपरितार्थी हैन पूरक तत्व हुन् भन्ने सावित गर्यौं ।’

माओवादी आन्दोलनलाई पुनर्गठित गर्ने उपायहरू औँल्याउँदै भट्टराईले नयाँ विचार, दर्शन र राजनीतिको पुर्नसंस्लेषण जरूरी रहेको पनि बताएका छन् । ‘नेपालका समस्याहरू हल गर्न हिजोको माओवादको वैचारिक-राजनीतिक घेराभित्र मात्र सीमित भएर हुँदैन, त्यसनिम्ति माओवादी र अन्य कम्युनिष्ट धारका नेता-कार्यकर्ताहरूले  सिर्जनशील ढंगले सोच्न र पहल लिन जरूरी छ’, उनले थपेका छन् ।

 

टिप्पणीहरू