यातायातका पिएन घुससहित पक्राउ
यातायात व्यवस्था कार्यालय, कास्कीका एक कर्मचारी घुस खाएको रकमसहित समातिएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयबाट खटिएको टोलीले यातायातका कार्यालय सहयोगी (पिएन) दिपक पौडेललाई सात हजार घुससहित नियन्त्रणमा लिएको हो ।
पौडेलले सवारी चालक अनुमति पत्रको अनलाईन फारम भरिदिने र लिखित जाँच उत्तिर्ण गराइ ट्रायल पास गराइदिने भन्दै सेवाग्राहीसँग घुस लिएको अख्तियार जनाएको छ । उनले एक सेवाग्रागीसँग नगद लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।
उता, कास्कीकै बाटुलेचौरस्थित लिचि बगैँचा हत्याउन गरिएको घुस ‘डिल’को प्रकरणले राष्ट्रिय राजनीति तातेको छ । मालपोत कार्यालयका प्रमुखको सरुवा र भूमि आयोगमा नियुक्ती दिलाउन गरिएको घुस डिलकै कारण राजकुमार गुप्ताले मन्त्री पदबाट हात धुनुपरेको हो ।
अख्तियारले हिजो भक्तपुरको मालपोत कार्यालयका प्रमुख अधिकृत कुमार आचार्यसहित दुई जनालाई साढे २४ लाख घुससहित रंगेहात समातेको थियो ।
टिप्पणीहरू