जनमतका निलम्बित नेताहरुलाई भौतिक कारबाहीको चेतावनी
जनमत पार्टीका निलम्बित उपाध्यक्ष दिपक साहसहित तीन नेतालाई थप कारबाहीको चेतावनी दिइएको छ । पार्टीको सिराहा जिल्ला समन्वय समितिले भौतिक कारबाहीसम्मको प्रसंग उठाएको छ ।
जिल्ला इञ्चार्ज विनोदकुमार यादवले आज स्थानीय प्रशासन र प्रहरीमा निवेदन दर्ता गराउँदै निलम्बनमा परेका साह, कोषाध्यक्ष सूर्यनारायण यादव र केन्द्रीय कार्यकारणी सदस्य शम्भु साहलाई कारबाही नगरे भौतिक कारबाही गर्ने चेतावनी दिएका हुन् ।
उनीहरुले गैरकानूनी रुपमा पार्टीको झण्डा र ब्यानर प्रयोग गरेर बद्नाम तथा सामाजिक सञ्जालमा भ्रामक प्रचार गरेको समितिको भनाइ छ ।
निवेदनमा भनिएको छ, ‘पार्टीबाट निलम्बित भएका पूर्वराष्ट्रिय उपाध्यक्ष दिपक साह, पूर्वकोषाध्यक्ष सूर्यनारायण यादव र केन्द्रीय कार्यकारणी सदस्य शम्भु साहले पार्टी निर्देशन र सिद्धान्तविपरीत गैरकानूनी रुपमा पार्टीको झण्डा र ब्यानर प्रयोग गरी पार्टी र नेतृत्वलाई बद्नाम गर्ने, सामाजिक सञ्जालमा भ्रामक प्रचार गर्नेलगायतको क्रियाकलाप सिराहाका विभिन्न ठाउँमा गरेको पाइएको कारण ती व्यक्तिहरुलाई अविलम्ब कानूनी दायरामा ल्याई थुनामा राखी आवश्यक कानूनबमोजिम कारबाहीको लागि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय सिराहामा निवेदन दर्ता गराएका छौं । सो कार्यक्रम नरोकिए भौतिक कारबाही गर्न हामी बाध्य हुनेछौं ।’
टिप्पणीहरू