‘टार्गेट’मा ईश्वर पोखरेल
नेकपा (एमाले)ले वरिष्ठ उपाध्यक्ष पद नरहने गरी विधान संशोधन गर्ने तयारी गरेको छ । आज दिउँसो च्यासलमा बस्न लागेको केन्द्रीय सचिवालय बैठकले वरिष्ठ उपाध्यक्ष पद खारेजसहित संशोधन प्रस्ताव आगामी विधान महाधिवेशनमा प्रस्तुत गर्ने निर्णय गर्न लागेको हो ।
आगामी भदौ २०, २१ र २२ गते गोदावारीमा हुने विधान महाधिवेशनबाट उक्त संशोधनसहित प्रस्ताव पारित गराउने गरी आन्तरिक गृहकार्य सुरु भएको एक नेताले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको चाहनामा उक्त संशोधन प्रस्ताव अघि बढाइएको हो ।
हाल इश्वर पोखरेल वरिष्ठ उपाध्यक्ष छन् । यति उक्त संशोधनसहित विधान पारित भएमा उनलाई सकस पर्ने देखिन्छ। यता पार्टीका एक सचिवले भने यसबारे विस्तृत जानकारी नभएको बताए । ‘मैले पनि यो संशोधनको प्रस्ताव आउँदैछ भनेर सुनेको मात्र हो’, उनले जनआस्थासँग भने, ‘आज एक बजे बैठक छ, बैठकमा जाँदैछु, त्यसपछि थाहा होला ।’
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक पुनरागमनप्रति पार्टी अध्यक्ष ओलीको अरुची प्रकट भइरहँदा वरिष्ठ उपाध्यक्ष पोखरेल भने उत्साहित देखिन्छन् । भण्डारीलाई ‘स्पेस’ दिनको लागि दौडधुप बढाएपछि अध्यक्ष ओली पछिल्लो समय पोखरेलप्रति असन्तुष्ट रहेको चर्चा पार्टीपंक्तिमा व्यापक छ ।
टिप्पणीहरू